सुकिला-मुकिला युवा रिक्सा चालक हुदा(फोटोफिचर)


धरान । पूर्वक्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक एवं ब्लाष्ट दैनिकका सम्पादक किसोरकुमार कार्की, तरुण दल नगर सभापति देवेन्द्र लिम्बू बुधबार बिहान रिक्सा लिएर भानुचौकमा पुगे । त्यसपछि दुवैले पैदल यात्रुलाई ‘रिक्सामा जाने हो’ भन्दै सोध्न थाले ।
चिनजानका मानिसहरु अचम्म मान्दै उनीहरुलाई हेर्थे, र नजिक आएर के भएको ? भन्दै प्रश्न गर्थे । दुवैले रिक्सा चलाउनुको उद्देश्य प्रष्ट्याएपछि ती मानिसहरु नै रिक्सामा यात्रा गर्न राजी मात्रै भएनन्, रिक्साको वास्तविक भन्दा बढी नै भाडा पनि तिर्थे । बुधबार बिहान धरानको भानुचौकमा करिब साढे ८ बजेदेखिको यस्तो दृष्य दुई घण्टासम्म चलिरह्यो । समाजमा राम्रो परिचय बनाएका सुकिला मुकिला जस्ता देखिने युवाहरु रिक्सा चालक बन्नुको उद्देश्य थियो, एचआईभि संक्रमित बालबालिकाहरुको शिक्षा र आधाभूत आवश्यकता पूर्तिको लागि आर्थिक सहयोग जुटाउनु ।
जीवनमै पहिलो पटक रिक्सा चलाएका पूर्वक्षितिजका प्रबन्ध निर्देशक कार्कीले पसिनाको मुल्य ज्यादै महंगो हुने अनुभव सुनाउदै एचआइभि संक्रमित बालबालिकाहरुको लागि समाजमा सकरात्मक सन्देश जाने बताए । ‘रिक्सा चलाएर संकलित पैसाले उद्दार नै हुन्छ भन्ने होइन, तर उनीहरुको शिक्षाको लागि समाजले पनि केही योगदान गर्नुपर्छ भन्ने सन्देश जान्छ’–कार्कीले भने । नेवा च्यारिटी तथा धरान रनको आयोजनामा भएको रिक्सा सेवा कार्यक्रममा समाजसेवी, युवा नेतासँगै पत्रकारहरुले पनि स्वतस्र्फुत सहयोग गरेका थिए ।
संक्रमितहरुद्धारा स्थापना भएको धरान पोजेटिम ग्रुपसँगको सहकार्य तथा धरान मिडिया स्पोर्टिङ क्लबको सहयोग रहेको रिक्सा सेवा कार्यक्रमबाट २० हजार ७ सय ६४ रुपैया रकम संकलन भएको आयोजकले जनाएको छ । सात वटा रिक्सा चलाए वापत रिक्सा धनीले ४ सय रुपैया मात्रै लिएर सहयोग गरेको थियो । धरान रनका अध्यक्ष मनिष तामाङ, टक्स माउण्टेन बाइक शोरुपका कृष्ण केसी, रोमी राई, पत्रकार विकास राई, लोकराज लिम्बूलगायतले पनि रिक्सा चलाएका थिए । ‘घर घरमा पुगे, डोरी टागेर पैसा उठाउनु भन्दा सेवा गरेर पनि सहयोग जुटाउन सकिन्छ भन्ने सन्देश दिन पनि खोजेका हौं’–नेवा च्यारिटी एवं धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले भने–‘संकलन भएको रकम खर्च कटाएर सबै एचआइभि संक्रमित बालबालिकाहरुको शिक्षा र आवश्यकताको लागि सहयोग दिन्छौं ।’
अध्यक्ष राईका अनुसार शनिबार आयोजना हुने नेवा च्यारिटी ८ के रन पनि संक्रमित बालबालिकाहरुलाई नै समर्पित गरेर आयोजना गरिदैछ । धरान पोजेटिभ ग्रुपका अध्यक्ष खगेन्द्र खड्काका अनुसार हाल सुनसरी जिल्लामा २५ जना संक्रमित बालबालिकाहरु सम्पर्कमा छन् । एक बर्षदेखि १७ बर्षसम्मका ती बालबालिकाहरुले एआरभी(एन्टि रेक्टर भइरल) औषधी नियमित सेवन गर्नुपर्छ । जसले गर्दा उनीहरुले पौष्टिक आहार पनि खानुपर्दा निक्कै खर्चिलो हुने अध्यक्ष खड्काको भनाई छ । ‘कतिपयको आमाबुबा नै छैनन्, कपिको आमा मात्रै छ, कतिको बुबा मात्रै छ’–खड्काले भने–‘उनीहरुलाई शिक्षा र न्युट्रिशनको लागि सहयोगको ठुलो खाँचो छ ।’ नेवा च्यारिटीले सन् २०११ देखि असहाय, अशक्तहरुलाई सहयोग गर्दै आइरहेको छ भने धरान रनले स्वास्थ्यको लागि दौड भन्दै हरेक शनिबार धरान रन कार्यक्रम गर्दै आइरहेको छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे