डिपोट र धरान सिटि नेबि कपको सेमीफाइनलमा


धरान । यहाँ जारी चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल प्रतियोगिता (नेबि कप) मा डिपोट उच्चमावि र धरान सिटी कलेज सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा बुधबार भएको क्वार्टरफाइनल खेलमा डिपोटले सुनसरी टेक्निकल कलेज र धरान सिटिले नवोदय विद्यामन्दिरलाई हराउदै सेमीफाइनल यात्रा तय गरेको हो ।
बुधबारको पहिलो क्वार्टरफाइनल खेलमा डिपोटले टेक्निकल कलेजलाई ३–१ गोलअन्तरले पराजित गर्यो । डिपोटको जितमा मिलन राईले ह्याट्रिक गरेका थिए । पहिलो हाफको ५ औं मिनेटमा राजु चौधरीले गोल गर्दै टेक्निकल कलेजलाई अग्रता दिलाएका थिए । तर, लगत्तै ७ औं मिनेटमा डिपोटका मिलनले गोल फर्काउदै खेल बराबरी बनाए । उनले दोस्रो हाफको ९ मिनेट र २० औं मिनेटमा थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पनि पुरा गरे । म्यान अफ दि म्याच पनि उनी नै घोषित भए ।
यसैगरि, दोस्रो क्र्वाटरफाइनल खेलमा धरान सिटि कलेजले नवोदयलाई २–१ को झिनो गोलअन्तरले हरायो । पहिलो हाफको ५ औं मिनेटमा धरान सिटिका देउमान लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको १३ औं मिनेटमा नवोदयका आशिष तुलाधारले गोल गर्दै खेल बराबरी बनाए । निर्धारित अवधिको खेलमा थप निर्णायक गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । थप गरिएको १० मिनेटको खेलमा दोस्रो हाफको ३ मिनेटमा धरान सिटीका सौजन राईले गोल गर्दै टिमको सेमीफाइनल यात्रा सुनिश्चित गरे । सो खेलको म्यान अफ दि म्याच नवोदयका आशिष तुलाधर भए ।
नेवि स्पोर्टस् युनियनद्धारा आयोजित प्रतियोगितामा बिहिबार पनि दुई क्र्वाटरफाइनल खेल हुनेछ । पहिलो खेल धरान उच्चमावि(साइन्स ब्लक) र केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार बीच हुनेछ भने दोस्रो क्र्वाटरफाइनल पब्लिक उच्चमावि र धरान उच्चमावि(व्यावस्थापन ब्लक)बीच हुने आयोजकले जनाएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे