चार करोड लगानी भएको सप्तरंगी पार्कको उपयोगिता शुन्य


धरान । इटहरीका कलाकार विक्रम श्रीले धरान १७ स्थित सप्तरंगी पार्कमा विरुवा रोपेर पजल गार्डेन(भुलभुलैया) र प्रतिमासहितको मण्डला बनाउने योजना धरान नगरपालिकामा पेश गरेका थिए । उनको प्रस्ताव वमोजिम करिब चार बर्षअघि नगरपालिकाले बजेट व्यवस्था गरेर काम शुरु गर्यो ।
कलाकार श्रीले प्रस्ताव गरेको ‘विरुवाको पजल गार्डेन’ अहिले क्रंक्रिटको रुपमा ठडिएको छ, त्यो पनि उनले प्रस्ताव गरेको भन्दा फरक ठाउँमा । बालबालिकालाई मनोरञ्जन दिलाउन प्रकृत्तिमैत्री पजल गार्डेनको प्रस्ताव गरेपनि अर्कै स्थानमा क्रंक्रिटको ठडिदा कलाकार श्री दुःखी छन् । ‘नेटभित्र विरुवा रोपेर हुर्काउने र प्रकृत्तिमैत्री पजल गार्डेन बनाउने योजना थियो, अहिले सिमेन्टेड बनेको छ, दुःखी छुँ’–कलाकार श्रीले भने ।
धरान नगरपालिकाको महत्वकांक्षी योजनाअन्र्तगतको सप्तरंगी पार्कमा भइरहेको मनोमानी लगानीको यो एउटा उदाहरण मात्रै हो । करिब ९ बिघा क्षेत्रफलमा फैलिएको पार्कलाई पर्यटकीय आर्कषणको केन्द्र बनाउने नाममा नगरपालिका र अन्य सरकारी निकायले करोडौं लगानी गरिसकेको छ । तर, ती लगानीको उपयोगिता नभएको भन्दै विरोधको स्वरहरुपनि उठिरहेको छ । करोडौं लगानी भइसके पनि हालसम्म पार्कको न गुरुयोजना बन्नसकेको छ, न पार्क पर्यटकीय गन्तव्यकोरुपमा विकास हुन सकेको छ ।
गुरुयोजनाविना नै अनेक संरचना निर्माण गरिदा बजेट दुरुपयोग भएको नगरबासीहरु आशंका व्यक्त गर्छन् । निर्माण भएको संरचनाहरुको पनि उचित संरक्षण हुन सकेको छैन । पर्यटकीय केन्द्र बनाउने भनिएपनि त्यहाँ पर्यटकहरुको चहलपहल छैन । ‘पार्कको गुरुयोजनै छैन, जे मन लाग्यो त्यही बनाउछन् । घेराबारा गरेपछि नै गुरुयोजना बनिनुपथ्र्यो’–स्थानीयबासी एवं समाजसेवी मनोज भटराई भन्छन्–‘पार्कको लगानी पानीमा बालुवा खन्याएसहर मात्रै भइरहेको छ, यत्रो लगानीको कुनै औचित्य पुष्टि हुन सकेको छैन ।’ जनसरोकार मञ्चका अध्यक्ष एवं पूर्व नगर उपप्रमुख कृष्णनारायण पलिखे पनि मनोमानी ढंगले पार्कमा लगानी भइरहेको दाबी गर्छन् । ‘करोडौं लगानी छ, तर त्यसको उपयोगिता के मा भइरहेको छ ? ’–उनले भने ।
पार्कको विकासमा अहिलेसम्म नगरपालिकाबाट ३ करोड र शहरी विकास तथा भवन निर्माण विभागबाट एक करोड गरी करिब ४ करोडको हाराहारीमा लगानी भइसकेको नगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठको भनाई छ । उनका अनुसार सन् १९९८ मा बिडिए एशोसिएशट नामको कन्सल्टेन्सीले सप्तरंगी पार्कको अवधारणा योजना(कन्सेप्ट प्लान) बनाएको थियो । त्यसपछि नगरपालिकाले जगेडा कोषबाट २ चरणमा गरी एक करोड निकासा गरेर कम्पाउण्ड वाल र ड्रेन निर्माणमा खर्च गर्यो भने थप ५० लाखमा शौचालय, हेरालु बस्ने भवन, बास्केटवल कोर्ट र पिकनिक सेट निर्माणमा खर्च भएको इञ्जिनियर श्रेष्ठले बताए । नगरपालिकाको आग्रहमा शहरी विकास तथा भवन निर्माण समितिले थप २ वटा पिकनिक स्पट र पजल गार्डेन निर्माण गरेको छ भने नगरपालिकाले प्रतिमासहितको मण्डला निर्माण गरेको छ । पार्कको शुरुवातमा नै नगरपालिकाले निर्माण गरेको शहीद स्मारक पनि वेवारिसे अवस्थमा छ । ‘नगरपालिकाबाट विभिन्न चरणमा भएको काममा ३ करोडजति लगानी भएको छ, शहरी विकासबाट एक करोडको हाराहारीमा लगानी भएको होला’–इञ्जिनियर श्रेष्ठले ।
चार करोड लगानी भएको पार्क सदुपयोग हुन नसके पनि लगानी दुरुपयोग भने नभएको इञ्जिनियर श्रेष्ठको दाबी छ । शुरुको कन्सेप्ट प्लानलाई नै पारिमार्जन गर्दै पार्कभित्र संरचनाहरु निर्माण गरिएको उनले बताए । निर्माण भएका संरचनाहरुको फिनिसिङ गर्न बाँकी रहेकोले वेवारिसे जस्तो देखिएको उनको भनाई छ । तर, पछिल्लो समय निर्माण भएको पजल गार्डेन र प्रतिमासहितको मण्डलामा भएको लगानीले भने बजेट दुरुपयोग भएको आशंका बढाउछ ।
कलाकार श्रीले विरुवाको पजल गार्डेन बनाउने प्रस्ताव पेश गरेपनि शहरी विकास तथा भवन निर्माण विभागले कंक्रिटको संरचना बनाएको छ । त्यो पनि ठेकेदारको लापरवाहीले प्वाल नबनाइदिदा बर्षातमा पानीले भरिने गरेको छ । पजल गार्डेनको बिषयमा नगरपालिकाका इञ्जिनियर श्रेष्ठ भन्छन्–‘त्यो बिक्रम श्रीले विरुवाको बनाउने भन्ने प्रस्ताव गरेका थिए, तर पछि शहरी विकासले सिमन्टको बनाइदियो ।’ शहरी विकासका आर्किटेक इञ्जिनियर सुरेन्द्र शाह भने नगरपालिकासँग सल्लाह गरेर नै सिमेन्टको पजल गार्डेन बनाएको दाबी गर्छन् । ठेकेदारले केही स्थानमा प्वाल नबनाउदा पानी जमेपनि त्यसलाई पछि पुनः पानीको निकास जाने बनाइएको शाहले दाबी गरे ।
पजल गार्डेनमा झै प्रतिमासहितको मण्डला निर्माणमा पनि विल भुक्तानीको समयमा निक्कै विवाद भएको थियो । नगरपालिकाले शुरुमा उपभोक्ता समिति वा टेण्डर आह्वान विना नै मण्डला निर्माणको काम कलाकार बिक्रम श्रीलाई जिम्मा दिएका थिए । पहिलो चरणको काम सकेर विल भुक्तानीमा समस्या भएपछि मात्रै स्थानीय समेटेर एक उपभोक्ता समिति गठन भएको थियो । तर, समिति काम माइन्युट गर्ने र चेकमा हस्ताक्षर गर्नेबाहेक केही नभएको मण्डला निर्माण समितिको सयोजक मनोज भटराई बताउछन् ।
उनका अनुसार पहिलो चरणमा चेकमा हस्ताक्षर गर्ने काम मात्रै भएकोले दोस्रो चरणको काम हस्तक्षेप गरेर समिति आफैले गर्यो भने तेस्रो चरणको काम पुनः कलाकार श्रीबाट नै भएको थियो । ‘विल पास नभएपछि मात्रै सहयोग गर्ने भनेर समिति बनाइयो, त्यो शुरुमा नै हुनुपथ्र्यो कि टेण्डर गरिनुपथ्र्यो’–संयोजक भटराई भन्छन् । मण्डला निर्माणको बेला कलाकार श्रीले आफ्ना कामदार राख्नको लागि बाँसको संरचनाहरु निर्माण गरेका थिए । नगरपालिकाले योजना विनाको संरचना बनाएको भन्दै त्यसको खर्च भुक्तानी नगर्ने भनेपछि विवाद भएको थियो । अहिले लाखौं खर्च भएको ती संरचनाहरु उपयोग एवं संरक्षणविहिन भएका छन् । नगरपालिकाका इञ्जिनियर श्रेष्ठ भने बिशेषज्ञाको हिसाबले कलाकार श्रीलाई कामको जिम्मा दिएको बताउछन् । शुरुमा ५ लाख खर्चको योजना पेश गरपनि त्यो बढ्दै गएर समस्या भएको उनको भनाई छ । मण्डला निर्माण गर्दा २२ लाख जति र मुर्ति थप गर्दा १० लाख खर्च भएको श्रेष्ठले जानकारी दिए ।
कलाकार श्री भने वृहत योजना वमोजिम नै काम गरेको दाबी गर्दै कुनै आर्थिक विवाद नभएको बताए । मण्डला, लाइब्रेरी, सँस्कृतिक संग्रहालय, पजल गार्डेनलगायत ३ करोडको योजना तयार गरेपनि आफुले मण्डलामात्रै बनाएको उनले बताए । ‘बाँसको घरको खर्च भुक्तानीमा दुःख पाइयो, तर लगानी दुरुपयोग भएको छैन’–उनको दाबी छ ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे