सहयोगी पोलिक्लिनिक एवं डाइग्नोष्टिक सेन्टर शुरु


धरान । शहरी क्षेत्रका नगरबासीलाई चौबिसै घण्टा उपचार सेवा पुर्याउने उद्देश्यले धरानमा सहयोगी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि सञ्चालनमा आएको छ ।
धरान ५ स्थित महेन्द्र पथमा प्रालिले ओपिडी सेवासहितको सेन्टर शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । सेन्टरमा ओपिडी सेवासँगै रेडियोलोजी, ल्याबोरटरी र औषधीको फार्मेसी सेवा पनि शुरुवात गरिएको प्रालिले जनाएको छ । सेन्टरको शुक्रबार एक समारोहबीच अध्यक्ष एवं प्रबन्ध निर्देशक सुनिता सुब्बा(न्यौपाने)ले पूजापाठ गरेर शुरुवात गरेकी थिइन् । सेन्टरमा आकस्मिक र फार्मेसी सेवा चौबिसै घण्टा सञ्चालनमा रहने भएकोले सर्वसाधारणरुहरुलाई राहत मिल्ने उनले बताइन् । ‘अन्य अस्पताल भन्दा यहाँ शुल्क पनि सहुलियत दरमा हुन्छ, राती पनि उपचार सेवा दिनेछौं, विरामीलाई घरमा पनि सेवा पुर्याउने योजना छ’–प्रबन्ध निर्देशक सुब्बाले भनिन् ।

प्रालिकी प्रबन्ध निर्देशक सुनिता सुब्बा(न्यौपाने)
प्रालिमा विभिन्न क्षेत्रका ६ जना मिलेर करोड लगानी गरेका छन् । अध्यक्ष एवं प्रबन्ध निर्देशक सुब्बा(न्यौपाने) सुनसरी टेक्निकल कलेजकी सञ्चालिका पनि हुन् । उनीसँगै सोही कलेजका प्रिन्सिपल तथा फर्मासिष्ट अमित कुमार गुप्ता, व्यावसायीहरु विकी अग्रवाल, कृष्ण न्यौपाने, प्रकाश राई र उद्धव श्रेष्ठले लगानी गरेका छन् । सेन्टरमा बाल रोगका चिकित्सक डा.केवल श्रेष्ठले सेवा शुक्रबारबाटै शुरु गरिसकेका छन् भने थप एक जना फिजिसियन, गाइनो सम्बन्धि चिकित्सकबाट पनि उपचार सेवा शुरुवात गरिने सञ्चालक अमितकुमार गुप्ताले बताए । उनका अनुसार धरानका अधिकांश सर्वसाधारणहरु सानो भन्दा सानो स्वास्थ्य समस्या लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने गरेका छन् । जसले गर्दा बीपीमा विरामीको अत्यधिक चाप हुने गर्छ । ‘सानातिना रोगका उपचारहरु हामी यही राम्रोसँग गछौं, बीपी नै पुग्न नपरोस् भन्ने उद्देश्य हो, जटिल खालको भएमात्रै रेफर हुन्छन्’–उनले भने ।

धरानको बजार क्षेत्रमा राती कुनै पनि मेडिकल वा फार्मेसी नखुल्ने भएकोले कुनै औषधी खरीद गर्नुपर्दा बीपी प्रतिष्ठानअघिको औषधी पसल पुग्नुपर्छ । तर, सेन्टरमा रहेको फार्मेसी चौबिसै घण्टा खुल्ला रहने सञ्चालकहरुले जनाएका छन् । प्रालिलाई समुदायमा आधारित भएर सञ्चालन गरिने भन्दै सञ्चालकहरुले भविष्यमा निःशुल्क स्वास्थ्य शिविर पनि गर्ने बताएका छन् । भविष्यमा अस्पताल बनाउने लक्ष्य रहेको भन्दै प्रबन्ध निर्देशक सुब्बा(न्यौपाने)ले धरानका विभिन्न स्कुलका होस्टेलमा रहेका विद्यार्थी र ६० बर्ष माथिका वृद्धवृद्धाहरुलाई उपचारमा सहुलियत दिने योजना रहेको पनि खुलाइन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे