नियतीले जितिन् पूर्वाञ्चल प्रतिक-२ को उपाधि(फोटोफिचर)


धरान । सुनसरी धरानकी १३ बर्षीय नियती पराजुलीले १८ बर्ष मुनिको मेरिडियन ओभरसिज पूर्वाञ्चलव्यापी गायन प्रतियोगिता पूर्वाञ्चल प्रतिक २ को उपाधि जितेकी छिन् ।
धरान ८ स्थित सभागृहमा शनिबार अबेर सम्पन्न प्रतियोगिताको फाइनलमा आफुलाई अब्बल सावित गर्दै नियतीले उपाधि हात पारेकी हुन् । प्रतियोगिताको फाइनलमा विभिन्न जिल्लाका ६ प्रतियोगीहरु सहभागी थिए । धरान १३ स्थित सत्य साई स्कुलमा कक्षा ७ मा अध्ययनरत पराजुलीले उपाधि ट्रफीसँगै नगद २५ हजार पनि हात पारिन् । यस्तै, पूर्वाञ्चल संगीत विद्यालयबाट ३ महिनो निःशुल्क प्रशिक्षण तथा एउटा म्युजिक भिडियोसहित ३ वटा गीत रेकर्ड गर्ने अवसर पनि उनले पाउने छिन् ।
उनलाई निर्णायकहरु विनोद प्रियदर्शी राई, राईमन राई र हिन्दुहाङ राई तथा अतिथि निर्णायक एवं गायक भिषण मुकारुङले प्रथम घोषणा गरेको थियो । उपाधि जितेपछि खुशी हुदै उनले फाइनलमा उपाधि जित्ने आत्मविश्वास भएको बताइन् । ‘तयारी राम्रो थियो, स्टेजमा पनि राम्रै गाएकी थिए’–उनले भनिन् । प्रतियोगितामा भोजपुरकी १८ बर्षीय शिवा राई दोस्रो भइन् भने संखुवासभाका १४ बर्षीय परेश राई तेस्रो भएका थिए । उनीहरु दुवैले ट्रफीसँगै क्रमशः नगद १५ हजार र १० हजार हात पारे । यसबाहेक दोस्रो हुनेले २ वटा र तेस्रो हुने प्रतियोगीले एउटा गीत रेकर्ड गर्ने अवसर पनि पाएका छन् । फाइनलमा प्रतियोगीहरुले एउटा आफ्नै रोजाईको र एउटा निर्णायकको रोजाईको गीत गाएका थिए ।
प्रतियोगिताको फाइनलिष्ट झापाका यु.एन.तामाङले वेष्ट भोकलको उपाधि जिते भने संखुवासभाका परेश राईले वेष्ट पर्फमेन्सको उपाधि पाए । यस्तै, अडियन्स च्वाइसको उपाधि शिवा राई, अनुशासित प्रतियोगीको उपाधि निशान राई, उत्कृष्ट गीत छनौटको उपाधि सरोज लिंथेपले हात पारे । पूर्वाञ्चल प्रतिक २ की उपाधि विजेता नियतीकी बुबा रोशन पराजुलीले सहयोगी अभिभावकको उपाधि पाएका थिए ।
प्रतियोगिताकी विजेता नियतीलाई गत सँस्करणकी विजेता निवा सुब्बाले उपाधि ट्रफी प्रदान गरेकी थिइन् भने अन्य विजेताहरुलाई कार्यक्रमका संयोजक गणेश बिक, प्रमुख अतिथि एवं सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, गायक भिषण मुकारुङ, ए.पि.शेर्पा, उमंग लामा बराह ज्वेलारीका धरान शाखा प्रमुख मानबहादुर बिक, एमाओवादी केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बोलगायतले पुरस्कार वितरण गरेका थिए । बाल खोज पाक्षिक पत्रिकाको आयोजनामा प्रतियोगिता गत असारदेखि विभिन्न चरणमा भइरहेको थियो । प्रतियोगिताको फाइनलमा समाजसेवी मीनामाया खरेल खत्री, रवीन्द्र गुरुङ, पत्रकारद्धय रणध्वज लोहार, रोहित राईलाई बिशेष सम्मान गरिएको थियो भने अन्य सहयोगी संघसंस्था एवं व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, अतिथि गायक भिषण मुकारुङ, उमंग लामा, गायिका पवित्रा गुरुङ, पहिलो पूर्वाञ्चल प्रतिक विजेता निवा सुब्बाले गीत गाएका थिए भने गरिमा डान्स सेन्टरका कलाकारहरुले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।































Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे