प्लाष्टिक झोला निषेध गर्न अनुगमन र अभियानको खाँचो


धरान । पोलिथिन झोलालाई पुर्णरुपमा प्रतिबन्ध लगाएपछि प्रयोगमा कमी भएपनि धरानमा लुकीछिपी प्रयोग भइरहेको सरोकारवालाहरुले बताएका छन् ।
धराने युवा जमातले नगरपालिकामा आयोजना गरेको प्लाष्टिक झोलाको वर्तमान अवस्था, विकल्प र चुनौती बिषयक संवाद कार्यक्रमले प्लाष्टिक झोला प्रयोग पुर्णरुपमा निषेध गर्न थप प्रभावकारी अभियान चलाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । छलफलमा अभियानलाई जनस्तरमा पुर्याउन तथा प्रभावकारी बनाउन सबै विकल्पसहित सरोकारवाला एवं संघसंसस्थाहरुले अभियान नै सञ्चालन गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
नगरपलिकाका समाज विकास अधिकृत सुनिल नेपालले पुर्णप्रतिबन्ध लगाएपनि लुकीछिपी भने प्रयोग भइरहेको हुनसक्ने बताए । तथापी, पोलिथिन झोलाको मानव स्वास्थ्य, वातावरणमा पर्ने असरबारे जनचेतनामुलक कार्यक्रमहरु भइरहेको उनले बताए । ‘पुर्णरुपमा प्रतिबन्ध हुन नसकेपनि हामीले जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छौं’–नेपालले भने–‘कालो पोलिथिन पुर्णरुपमा बन्देज छ, तर मासु र तरल पदार्थको लागि भनेर सेतो प्लाष्टिकको प्रयोगलाई खुकुलो गरेका छौं ।’ प्लाष्टिक झोलामुक्त नागरिक अभियान समिति गठन गरेर अनुमगन, नियन्त्रण र जनचेतना फैलाउने जिम्मेवारी पनि दिइएको उनले बताए ।

यसैगरि, नगरपालिकाका सरसफाइ प्राविधिक शशिर श्रेष्ठले धरानको फोहोरमा प्लाष्टिकको मात्रामा ज्यादै कमी आएको बताए । दैनिक ४७.८८ टन फोहोर नगरबाट निस्कने र ती मध्ये ३५ टन नगरपालिकाले संकलन गर्छ । त्यसमा प्लाष्टिकको मात्रा २२.६२ प्रतिशत हुने नगरपालिकाको तथ्यांक रहेपनि अहिले निक्कै कम भएको उनले बताए । सुनसरी उद्योग वाणिज्य संघका प्रचार तथा संगठन सचिव केशव श्रेष्ठले प्लाष्टिक झोलाको विकल्पको रुपमा बजारमा कपडाको झोला ल्याउने तयारी भइरहेको बताए । नगरपालिकामा कर तिर्न आउने नगरबासीलाई छुटमा झोला वितरण गरिने र घरघरमा पुर्याउने उद्देश्य लिएको उनले बताए । प्रयोग भए नभएको अनुगमन पनि गर्ने उनको भनाई छ ।
धरानलाई गत भदौ १३ गते प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । धरान नगरपालिका तथा सुनसरी उद्योग वाणिज्य संघ संयोजक रहेको कार्यक्रममा विभिन्न सरोकारवाला निकाय एवं संघसंस्थाहरुबाट ४० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए । युवा अभियान नेपालको सहयोगमा भएको कार्यक्रममा प्लाष्टिक झोला प्रयोगलाई प्रतिबन्ध गर्न वृहतरुपमा युवाहरुलाई पनि सहभागी गराएर अभियान थाल्ने युवा जमातका सल्लाहकार समिर शाक्यले बताए ।





 



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे