डेढ दशकपछि सप्तरंगी पार्कको गुरुयोजना बन्दै

सप्तरंगी पार्कभित्र निर्माण गरिएको शहीद स्मारक ।

धरान । चार करोड बढी लगानीमा अनेक संरचना निर्माण भइसकेको धरान १७ स्थित सप्तरंगी पार्कको व्यवस्थित विकासको लागि नगरपालिकाले मास्टर प्लान(गुरुयोजना) बनाउने भएको छ ।
पार्कको अवधारणा तयार भएको करिब डेढ दशकपछि मात्रै नगरपालिकाले गुरुयोजना बनाउन चासो दिएको हो । पार्कको दिगो विकास एवं उचित व्यावस्थापनको लागि गुरुयोजना बनाउन लागिएको नगरपालिकाले जनाएको छ । गुरुयोजना तयार भएपछि पार्क सञ्चालनको लागि निजी क्षेत्रलाई जिम्मा लगाउने नगरपालिकाको योजना छ । धरानको महत्वकांक्षी एवं दीर्घकालीन योजनामध्ये एक सप्तरंगी पार्क भएकोले पनि गुरुयोजना बनाउन लागेको इञ्जिनियर सुरज श्रेष्ठले बताए । उनका अनुसार चालु आर्थिक बर्षमा गुरुयोजना बनाउन नगरपालिकाले ८ लाख रुपैया बजेट छुट्याएको छ ।
‘सप्तरंगी पार्कलाई धरानको प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्य हो, त्यसैले यसको दिगो विकास र व्यवस्थापनको लागि गुरुयोजना आवश्यक थियो’–इञ्जिनियर श्रेष्ठले भने–‘विगतमा पनि गुरुयोजना बनाउने कुरा थुप्रै पटक उठ्यो, तर मुर्तरुप पाउन सकेको थिएन ।’ सन् १९९८ मा पार्कको अवधारणा शुरु भएर थुप्रै संरचनाहरु बनेपनि गुरुयोजना भने बनेको थिए । गुरुयोजनाविना नै जथाभावी संरचनाहरु निर्माण भएको भन्दै नगरपालिकाको आलोचना पनि हुनेगथ्र्यो । ‘अहिलेका संरचनाहरुलाई कायम राख्दै पार्कको विस्तृत अध्ययन गरेर गुरुयोजना तयार गरिनेछ, र यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने योजना छ’–इञ्जिनियर श्रेष्ठले भने । हाल नगरपालिकाले गुरुयोजनाको लागि ८ लाखसँगै तल्लो क्षेत्रमा कम्पाउण्ड वाल लगाउन थप २० लाख पनि विनियोजना गरेको पनि उनले बताए ।

सप्तरंगी पार्कभित्र निर्माण गरिएको जल बुद्धको प्रतिमा ।
पार्कलाई प्रमुख पर्यटकीय केन्द्र बनाएर नगरपालिकाको आम्दानीको स्रोतकोरुपमा विकास गर्नको लागि निजी क्षेत्रलाई जिम्मा लगाउने प्रमुख कार्यकारी अधिकृत भोजराज खतिवडाले बताए । उनका अनुसार पार्क क्षेत्रमा खानेपानीको समस्या भएकोले त्यसको पनि व्यवस्था गरिनेछ । ‘सप्तरंगीलाई आम्दानीको स्रोतकोरुपमा कसरी विकास गर्ने भनेर अध्ययन हुन्छ र मास्टरप्लान बन्छ’–उनले भने–‘गुरुयोजना बनेपछि लगानीकर्ता खोज्छौं, सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै दिन्छौं ।’
करिब ९ बिघा क्षेत्रफलमा फैलिएको पार्कलाई पर्यटकीय आर्कषणको केन्द्र बनाउने नाममा नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभागले करोडौं लगानी गरेपनि उपयोगमा भने आउन सकेको छैन । पार्कको विकासमा अहिलेसम्म नगरपालिकाबाट ३ करोड र शहरी विकास तथा भवन निर्माण विभागबाट एक करोड गरी करिब ४ करोडको हाराहारीमा लगानी भइसकेको छ । सन् १९९८ मा बिडिए एशोसिएशट नामको कन्सल्टेन्सीले सप्तरंगी पार्कको अवधारणा योजना(कन्सेप्ट प्लान) बनाएको थियो । त्यसपछि नगरपालिकाले जगेडा कोषबाट २ चरणमा गरी एक करोड निकासा गरेर कम्पाउण्ड वाल र ड्रेन निर्माणमा खर्च गर्यो भने थप ५० लाखमा शौचालय, हेरालु बस्ने भवन, बास्केटवल कोर्ट र पिकनिक सेट निर्माण गरेको थियो । यस्तै, नगरपालिकाको आग्रहमा शहरी विकास तथा भवन निर्माण समितिले थप २ वटा पिकनिक स्पट र पजल गार्डेन निर्माण गरेको छ भने नगरपालिकाले प्रतिमासहितको मण्डला निर्माण गरेको छ । पार्कको शुरुवातमा नै नगरपालिकाले निर्माण गरेको शहीद स्मारक पनि वेवारिसे अवस्थमा छ ।

सप्तरंगी पार्कको प्रवेश मार्ग र फुलबारी । 

सप्तरंगी पार्कमा निर्माण भइरहेको मण्डलामाथिको प्रतिमा ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे