विजयपुर गढीको मठमन्दिर वरीपरी प्लटिङ गर्न निषेध


धरान । ऐतिहासिक तथा पुरात्तात्विक मठमन्दिर भएको धरान १४ स्थित विजयपुर गढी क्षेत्रको केही भागमा जग्गा प्लटिङ निषेधित क्षेत्र घोषणा गरेको छ ।
ऐतिहासिक, पौराणिक महत्व बोकेका मठमन्दिर एवं सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले निश्चित क्षेत्रमा प्लष्टिङ निषेधित क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ । परिमार्जन गरिएको धरानको भवन तथा योजना मापदण्डलाई धरान नगरपालिकाको नगर परिषद्ले पारित गरेपछि विजयपुर गढीका निश्चित क्षेत्र प्लष्टिङ निषेधित क्षेत्र भएका हुन् । नगरपालिकाका अनुसार भवन तथा योजना मापदण्ड ०५६ को परिमार्जितरुप ०७० मा दन्तकाली मन्दिर, बुढासुब्बा, पिण्डेश्वर मन्दिर वरीपरी प्लष्टिङ निषेधित क्षेत्र तोकिएको हो । यो मापदण्डलाई पुस २९ गते सम्पन्न नगर परिषद्ले पारित गरेपछि यसले कानुनी मान्यता पाएको छ । ती क्षेत्रमा यसअघि नै नगरपालिकाले डोजर प्रयोग गर्न बन्देज गरिसकेको थियो ।
पारिमार्जन गरिएको भवन तथा योजना मापदण्डमा वडा १४ स्थित बुढासुब्बा मनिदर क्षेत्रको दुरी ४ सय मिटरदेखि भित्र प्लटिङ गर्न निषेध गरिएको छ । यसैगरि, दन्तकाली शक्तिपिठ र पिण्डेश्वर मन्दिर क्षेत्रको दुरी ४ सय मिटरदेखि भित्र पनि प्लष्टिङ गर्न पारिमार्जित मापदण्डले निषेध गरेको नगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठले बताए । उनका अनुसार विजयपुर गढीक्षेत्रको धरान १४ मा पर्ने भिरालो जमिन र जंगल क्षेत्रमा पनि मापदण्डले प्लटिङ गर्न निषेध गरेको छ । ‘जथाभावी प्लटिङ गर्दा सम्पदाको साँस्कृतिक, पुरात्तात्विक महत्व ह्रास हुन्छ भनेर पारिमार्जित भवन तथा योजना मापदण्ड ०७० ले निषेधित क्षेत्र तोकेको हो’–योजना शाखा प्रमुख इञ्जिनियर श्रेष्ठले भने–‘यो मापदण्डलाई नगर परिषदले पारित गरिसकेको छ, अब ती क्षेत्रमा प्लटिङ गर्न पाइने छैन ।’
धरान १४ विजयपुर अवस्थित बुढासुब्बा मन्दिर क्षेत्र ।
नगरपालिकाका अनुसार पुरात्तात्विक एवं ऐतिहासिक मठमन्दिर भएको क्षेत्र वरीपरी जग्गा प्लटिङ हुदा धेरै घर तथा भवनहरु निर्माण हुने र तिनले ऐतिहासिक सम्पदाहरुको महत्व घटाउछ । त्यसैले ती सम्पदाहरुको गरिमा र महत्वलाई कायम राख्नको लागि पनि प्लटिङ निषेधित क्षेत्र घोषणा गर्नुपरेको नगरपालिकाको भनाई छ । ‘जग्गा प्लटिङ नहुदा एउटा प्लटमा एउटा घर वा संरचना बनिने हो, तर त्यहाँ प्लष्टिङ भयो भने १० वटा प्लट बन्ला र त्यहाँ आधुनिक शैलीका १० वटा घर बनेर सम्पदाको महत्वलाई ओझेलमा पार्ला’–इञ्जिनियर श्रेष्ठले भने–‘त्यही भएर भवन तथा योजना मापदण्डमा यी क्षेत्रमा प्लटिङ निषेध गरिएको हो ।’ यसैगरि, धरान १३ को सारङ्ग क्षेत्र जलाधारको निमित्त निर्देशित क्षेत्रमा प्राविधिकको निर्देशनबाहेक जग्गा प्लटिङ गर्न भवन तथा योजना मापदण्डले निषेध गरेको उनले बताए ।
यसैगरी, नगरपालिकाको सिमाना हाँसपोसा, विष्णुपादुकाको पटनाली, पञ्चकन्याको सिमानासम्म रहेको चारकोशे जंङ्गललाई हरित क्षेत्रको रुपमा संरक्षित र विकास गर्न वन विभागसँग समन्वय गरिने पनि नगरपालिकाले जनाएको छ । ती क्षेत्रलाई कुनै पनि नीजि प्रयोजनको निमित्त स्वीकृती नदिईने मापदण्डमा उल्लेख छ । सर्दुजलाधार क्षेत्रलाई पनि संरक्षित क्षेत्रको रुपमा राखिने मापदण्डमा भनिएको छ । यो मापदण्ड समायानुकुल परिमार्जन हुनुपर्ने भएपनि ०५६ सालमा लागु भएयता परिमार्जन हुन सकेको थिएन । तीन बर्षअघि आफ्नै प्रयासमा केही मापदण्डको समायोजना गरेपनि प्राविधिक विज्ञताको अभावमा त्यो अपुर्ण थियो ।

                विजयपुर क्षेत्रको पर्यटकीय गुरुयोजना बनाइने

धरान १४ विजयपुर गढीमा अवस्थित पिण्डेश्वर मन्दिर परिसर ।
ऐतिहासिक तथा पुरात्तात्विक मठमन्दिर(सम्पदा)को महत्व जोगाउन प्लटिङ निषेध गरिएको विजयपुर क्षेत्रको समग्र विकास गर्न नगरपालिकाले वृहत्तर विजयपुर पर्यटकीय गुरुयोजना बनाउने तयारीसमेत गरेको । यसको लागि आर्थिक बर्ष ०७१÷०७२ को बजेटमा आवश्यक रकम पनि विनियोजना गरेको नगरपालिकाले जनाएको छ । इञ्जिनियर श्रेष्ठका अनुसार भक्तपुर नगरपालिकाले सम्पदाको वरीपरी पुराना नेवारी ढाचाको घर निर्माण गर्नेलाई सहुलियत उपलब्ध गराउने गरेको छ । धरानमा पनि विजयपुर क्षेत्रको गुरुयोजना तयार गर्दा समग्र विकासको योजनाहरु थप हुने उनले बताए । ‘मन्दिर क्षेत्रको लागि मात्रै होइन, समग्र विजयपुर गढीलाई पर्यटनमैत्री बनाउने गरी गुरुयोजना बनाइनेछ’–इञ्जिनियर श्रेष्ठले भने ।
          
(माघ ७ गतेको नागरिक दैनिकको पूर्वेली सँस्करणमा प्रकाशित)

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे