डा.केसीको समर्थन र जीवन रक्षाको लागि बीपीका डाक्टर पनि अनसनमा


धरान । त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा भएको राजनीतिक तथा प्रशासनिक हस्तक्षेप विरुद्ध आमरण अनसनमा बसेका वरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा.गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् ।
आम सरोकारको बिषय उठाएर ६ दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको मागप्रति सम्बन्धित निकाय मौन बस्दा ज्यानमाथि नै खतरा बढ्दै गएकोमा चिन्ता जाहेर गर्दै प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रा.डा.गोविन्द के.सी.ऐक्यवद्धता समिति गठन गरेर बिहिबारदेखि प्रतिष्ठानमा २४ घण्टे रिलेअनसन शुरु गरेका छन् । दिउँसो २ बजेदेखि शुरु भएको अनसनमा समितिका संयोजक डा.मधुर बस्नेत, डा.सन्तोष कुमार ढुंगाना, डा.डिल्लुराम कँडेल र डा.भागवत भटराई छन् । उनीहरुलाई अन्य डाक्टरहरुले पनि साथ दिएका छन् ।


हातमा कालोपट्टी बाँधेर जिओपिडी हातामा अनसनमा शुरु गरेका चिकित्सकहरुले सर्वसाधारणहरुको उपचार सेवामा भने प्रभावित नपार्ने जनाएका छन् । स्वास्थ्य क्षेत्रले प्राध्यापक डा.केसीजस्तो व्यक्ति सहजै नपाउने भएकोले उनको जीवन रक्षाको पहिलो माग राखेर रिले अनसन शुरु गरेको समितिका संयोजक डा.मधुर बस्नेतले बताए । ‘सम्बन्धित निकाय गम्भीर नहुदा छ दिन देखि आमरण अनसनमा बस्नु भएका डा.केसीको ज्यान खतरामा परिसक्यो, उहाँ जस्तो व्यक्तित्व स्वास्थ्य क्षेत्रले सहजै पाउन सक्दैन’–डा.बस्नेतले भने–‘त्यसैले हाम्रो पहिलो माग उहाँको जीवन रक्षा हुनुपर्यो ।’
डा.केसीको माग आइओएमसँग मात्रै सम्बन्धित नभई सबै स्वास्थ्य संस्थालाई राजनीतिक हस्तक्षेपमुक्त गर्नुपर्ने भएकोले आफुहरुको पनि सरोकार भएकोले समर्थन जनाएको बस्नेतले बताए । यसअघि पनि डा. केसी आमरण अनसनमा बस्दा प्राप्त भएका उपलब्धी र सकरात्मक परिणामलाई पुनः असफल बनाउने षडयन्त्र गरिएकोले त्यसविरुद्ध डा.केसीको समर्थनमा सबै ठाउँबाट जुट्नुपर्छ भन्ने सन्देश दिन पनि यहाँ आन्दोलन शुरु गरेको उनले बताए । ‘पहिलाको उपलब्धीलाई तुहाउन ठुलो चलखेल र व्यापार भएको छ, त्यसको विरुद्ध डा.केसी र काठमाण्डौं मात्रै होइन, सबै ठाउँबाट जुट्नुपर्छ, डा.केसी एक्ला छैनन् भनेर समर्थन जुटाउनुपर्छ’–आन्दोलन गर्नुको कारणबारे डा.बस्नेतले भने–‘स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरणविरुद्ध पनि यो सांकेतिक विरोध हो, यो अभियान देशैभरि चलोस भन्ने हाम्रो चाहना छ ।’


ऐक्यवद्धता समितिका अनुसार रिले अनसनको पहिलो चरणमा दिउँसो २ बजेदेखि राती १० बजेसम्म एउटा समुह बस्नेछ भने दोस्रो चरणमा राती १० बजेदेखि बिहान ८ बजेसम्म र शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुनः अन्य चिकित्सकहरु अनसनमा बस्नेछन् । शान्तिपुर्ण आन्दोलनको सुनुवाई नभए थप सशक्त आन्दोलनको कार्यक्रम पनि घोषणा गर्ने ऐक्यवद्धता समितिले जनाएको छ ।



  डा.गोविन्द केसीको आन्दोलनको समर्थन तथा उनको जीवन रक्षाको माग गर्दै रिले अनसनमा बसेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे