डिपो कपमा हिमशिखर फाइनलमा, निर्णय उल्टिएपछि होलिल्याण्डले फाइनल खेल्ने


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कप ०७० मा तरहराको हिमशिखर इङ्लिस बोर्डिङ स्कुल फाइनल प्रवेश गरेको छ ।
डिपो उच्चमाविको खेल मैदानमा जारी प्रतियोगितामा पहिलो पटक सहभागी भएको हिमशिखरले बुधबार डिफेन्डिङ च्याम्पियन सैनिक आवासिय महाविद्यालयको चुनौतीलाई २–१ ले समाप्त पार्यो । यो सँस्करणदेखि प्रतियोगितालाई जिल्लास्तरीय बनाइएको कारण पहिलो पटक धरान बाहिरबाट सहभागी हुदै हिमशिखर उपाधि नजिक पुग्न सफल भएको हो । हिमशिखरका असिम राई र समिर राईले उत्कृष्ट गोल गरेपछि कडा प्रतिद्धन्दी सैनिक सेमीफाइनलमा निराश बन्यो ।
खेलमा भने शुरुमा गोल गर्दै सैनिकले अग्रता लिएको थियो । दोस्रो हाफको ३३ औं मिनेटमा सैनिकका सर्वोच्च राई पहिलो गोल गरेका थिए । तर, यो अग्रता धेरै बेर टिक्न सकेन । काउन्टर एट्याकमा उत्रिएको हिमशिखरले पछि परेको एकमिनेटमै बराबरी गोल गर्यो । दोस्रो हाफको ३४ औं मिनेटमा फ्रि किकमा असिम राईले आर्कषक गोल गरे । यस्तै, दोस्रो हाफको ४० औं मिनेटमा पनि समिर राईले दर्शनीय गोल गर्दै हिमशिखरलाई जित दिलाए । प्रतियोगितामा दुवै टिमले उत्कृष्ट प्रर्दशन गर्दै आफुलाई उपाधिको दाबेदारकारुपमा उभ्याएको थियो । सोहीअनुरुप बुधबारको खेल पनि ज्यादै प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । सो खेलको म्यान अफ दि म्याच सैनिकका विवेक कार्की घोषित भए ।

यसैगरि, दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ भने धरानको लिबर्टी रेसिडेन्सियल स्कुलले लोटर विद्याविहारलाई २–० गोलअन्तरले हराउदै फाइनल पुगेको छ । लिटर्बीको जितको लागि खेल शुरु भएको पहिलो मिनेटमै उपिन राईले गोल गरेका थिए । यस्तै दोस्रो हाफको ६ मिनेटमा रिकेश राईले लिबर्टीको लागि थप एक गोल गरेका थिए । प्लेट च्याम्पियनसिपतर्फको फाइनल खेल बिहिबार आयोजक डिपो रातो र लिबर्टीबीच हुने आयोजकले जनाएको छ ।
...............

सेमीमा पराजित होल्यिाण्ड फाइनल खेल्ने

ललित अम्बर डिपो कपतर्फ मंगलबार नवोदय विद्या मन्दिरसँग पराजित भएको होलिल्याण्ड इन्टरनेशनल स्कुलले फाइनल खेल्ने पक्का भएको छ । सेमीफाइनलमा मंगलबार २–० ले पराजित होलिल्याण्डले नवोदयका तीन जना खेलाडीविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आयोजकले बुधबार छानबीन गर्दा कक्षा ५ भन्दा माथिका खेलाडी टिममा समावेश गराएको पाइएपछि निर्णय उल्टिएको हो । प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले मात्रै खेलाडीकोरुपमा सहभागी हुन पाउने नियम छ ।
‘होलिल्याण्डले नवोदयको टिममा ओभर क्लासको खेलाडी थियो भनेर निवेदन दिएको थियो, आज बिहानै बुझ्दा त्यस्तै पाइएकोले हिजोको खेलको निर्णय उल्टिएको छ’–प्रतियोगिताका संयोजक भिमराज लिम्बूले भने–‘अब फाइनलमा नवोदय होइन, होलिल्याण्ड खेल्नेछ ।’ ललित अम्बर डिपो कपअन्र्तगतको फाइनल शुक्रबार हुनेछ । फाइनलमा होलिल्याण्ड र तरहराको हिमशिखर खेल्नेछ ।
नियम विपरीत खेलाडी खेलाएर नवोदय विद्यामन्दिर स्वतः प्रतियोगिताबाट बाहिरिएपछि सैनिक आवासिय महाविद्यालय ललित अम्बर डिपोकपतर्फ स्वतः तेस्रो भएको छ । नवोदयको उजुरीले निर्णय उल्टिएपछि सैनिकले तेस्रो स्थानको लागि खेल्नु परेन । उजुरीले निर्णय नउल्टिएको भए सेमीफाइनलमा पराजित होलिल्याण्ड र सैनिकबीच तेस्रो स्थानको लागि भिडन्त हुनेथियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे