क्षेत्रीय प्रशासकको कार्यालयअघि धर्ना दिदै डाक्टरले दिए ओडिपी सेवा


धरान । चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा भएको राजनीतिक तथा प्रशासनिक हस्तक्षेप विरुद्ध आमरण अनसनमा बसेका वरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा.गोविन्द केसीको समर्थनमा आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले मंगलबार धर्ना दिदै सडकमै विरामीलाई ओपिडी सेवा दिएका छन् ।
सर्वोच्च अदालतले सोमबार सेवा सुचारु गर्न आदेश दिएपनि अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य उपचार सेवा ठप्प बनाएका प्रतिष्ठानका डाक्टरहरुले आन्दोलनलाई नयाँ रुप दिदै सडकमा ओपिडी सेवा चलाएका हुन् । उनीहरुले धरान १३, फुस्रेस्थित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको सम्पर्क कार्यालयअघि धर्ना र स्वास्थ्य सेवा एकैसाथ सञ्चालन गरेका थिए । राजधानीमा आमरन अनसनरत प्रा.डा.गोविन्द के.सी.ऐक्यवद्धता समितिको पहलमा भएको धर्ना कार्यक्रमसँगै शलभ निःशुल्क सडक स्वास्थ्य सेवाबाट ८० भन्दा बढी सर्वसाधारण एवं विरामीहरुले उपचार सेवा पाएका थिए ।


सडकबाटै बीपीका डाक्टरबाट निःशुल्क स्वास्थ्य सेवा र परामर्श पाउदा सर्वसाधारणहरु पनि निक्कै खुशी देखिन्थे । विष्णुपादुका ७, सुलिकोटस्थित घर फर्कदै गरेकी पञ्चमाया तामाङले भनिन्–‘घर फर्कदै थिएँ, डाक्टर सापहरुले निःशुल्क उपचार गर्ने सुनेर देखाउन आए, हस्पिटल पुग्नै परेन, धेरै राम्रो लाग्यो ।’ पेट दुख्ने र देब्रे छाती पोल्ने समस्या भएकी उनलाई डाक्टरल जाँच पनि औषधि लेखिदिएका छन् । यस्तै, हात र खुट्टामा गाठागुठी आएर कटकटी दुख्ने समस्या भएकी धरान १३ की ५३ बर्षीय मिङ्मा सिकी शेर्पाले पनि निःशुल्क उपचार पाउदा राहत मिलेको बताइन् । ‘बीपी जाने हो भने टिकट काट्नु पर्छ, लाइनमा उभिनु पर्छ, यहाँ त पैसा पनि परेन, लाइनमा पनि उभिनु परेन’–उनले भनिन् । आकस्मिक सेवा सुचारु रहेको भएपनि सर्वोच्च अदालतले उपचार सेवा नै नदिएको जस्तो गरी आदेश दिएकोले सांकेतिकरुपमा विरोध गर्दै सडकमा सर्वसाधराणहरुलाई शुलभ स्वास्थ्य सेवा दिएको डा.सन्तोष ढुंगानाले बताए । ‘हामी विरामीको उपचार नगरी बसेका छैनौं, इर्मजेन्सीबाट सेवा दिइनै रहेका छौं’–डा.ढुंगानाले भने–‘त्यति मात्रै होइन, हामी आन्दोलन वा धर्नास्थल वा जही रहेर पनि सेवा दिन तयार छौं ।’


प्रतिष्ठानस्थित जुनियर रजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विकास गौचनका अनुसार शुलभ निःशुल्क सडक स्वास्थ्य सेवाको क्रममा छात्रा रोग, स्त्री रोग, आँखा, जेनरल, सर्जरी, दन्त चिकित्सा, बाल रोग, हाडजोर्नीलगायत विविध विभागका चिकित्सकहरुले सेवा दिएका थिए । ‘सांकेतिक विरोध स्वरुप क्षेत्रीय प्रशासकको सम्पर्क कार्यालयमा धर्ना र सडक स्वास्थ्य सेवा दिएका हौं’–डा.गौचनले भने ।
प्रा.डा.गोविन्द केसी ऐक्यवद्धता समितिका संयोजक डा. मधुर बस्नेतले समग्र स्वास्थ्य शिक्षा र सेवाको सुधारको लागि डा.केसीको आन्दोलन भएकोले प्रतिष्ठानमा पनि आन्दोलन जारी राखेको बताए । ‘डा.केसी जस्तो निःस्वार्थ व्यक्तित्वलाई साथ दिएर आन्दोलन गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो, हामी भाग्यमानी छौं’–डा.बस्नेतले भने । नेपाल चिकित्सक संघ, धरान शाखाका सचिव डा.सिद्धार्थ कोइरालाले डा. केसी एक्लैले भ्रष्टचारविरुद्ध नेपालमा क्रान्ति ल्याएको बताए । मंगलबार क्षेत्रीय प्रशासन कार्यालयको मुलगेटअघि धर्ना र स्वास्थ्य सेवा दिएका प्रतिष्ठानका डाक्टररुले बुधबारदेखि भने आकस्मिक कक्षमा नै ओपिडी सेवा शुरु गर्नेबारे छलफल हुने बताएका छन् । ‘उपचार गराउन आउने सबै विरामी फर्कन नपरोस भने इर्मेजेन्सिमा नै ओपिडी सेवा दिने बारे छलफल गर्नेछौं’–डा. सन्तोष ढुंगानाले भने ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे