छवि सुधार्न जनताबाट सुझाव लिदै प्रहरी संगठन


धरान । प्रहरीले दिने सेवा सुविधा चुस्त दुरुस्त तथा तत्काल हुनुपर्ने । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामिण क्षेत्रमा पनि उचित प्रहरी सेवा प्रदान गरिनुपर्ने । प्रहरीको विभिन्न पदमा पूर्ति गर्नेक्रममा निष्पक्ष छनौट समितिको गठन गरी सर्वसाधारणले चाहे अनुरुप पदपूर्ति निपष्क्ष हुनुपर्ने । नातावाद, कृपावादको प्रहरीमा हावी हुन नदिने....।
यी हरफहरु कुनै बिशेषज्ञ टोलीले नेपाल प्रहरी संगठनलाई दिएको सुझाव झै छन् । तर, यथार्थमा भने यी हरफहरु महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत धरान १५ का एक विद्यार्थी राजकुमार रायमाझीले लेखेका हुन् । नेपाल प्रहरी संगठनको आफ्नो छवि सुधार्न जनताबाट सुझाव संकलन गर्न थालेपछि आइतबार रायमाझीले यी सुझाव लेखेर दिएका हुन् ।
प्रहरी हेडक्वार्टरको निर्देशन अनुरुप जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले शनिबारदेखि भानुचौकमा बसेर सर्वसाधारणबाट सुझाव संकलन गर्न थालेको हो । ‘तपाई प्रहरीले दिने सेवामा कस्तो सुधारको अपेक्षा गर्नुहुन्छ ?’ भन्ने ब्यानर देखेपछि सर्वसाधारहणहरु सोधीखोजी गर्दै प्रहरीलाई सुझाव लेखिरहेका छन् । ती सुझावहरुको कार्यान्वयन हुनुपर्नेमा पनि उनीहरुको माग छ ।
धरान १९ का दिनेश राईले धरानमा डेढ लाख बढी जनसंख्या भएपनि सयको हाराहारी मात्रै प्रहरी संख्या भएको प्रति ध्यानाकर्षण गराउदै जनसंख्याअनुरुप थप्न सुझाव दिएका छन् । ‘मलाई लाग्छ सय जना सुरक्षाकर्मीले कसरी डेढ लाख जनताको सुरक्षा दिन सक्ला ? जनसंख्या दिनरात बढीरहेको अवस्थामा प्रहरी संख्या चाहि २० बर्षअघि कै ? श्रीमान् प्रहरी सुरक्षाकर्मीको संख्या बढाईयोस्’–उनले लेखेका छन् ।
यस्तै, प्रहरीको कार्यशैली र व्यहावरप्रति असन्तुष्ट भएकाहरुलाई आफ्नो गुनासो पोख्ने उपयुक्त  मौका भएको छ । उनीहरु प्रहरीकै सामुन्ने आफ्ना असन्तुष्टीहरु पनि पोखिरहेका छन् । ‘ट्राफिक र प्रहरीले लाइसेन्स चेकिङको बेला वर्दीको धाक देखाएजस्तो, पैसा असुल्न मात्रै बसेको जस्तो गर्छन्’–धरान ७ का सरोज श्रेष्ठले भने–‘यो कुरा कस्लाई भन्ने, कहाँ भन्ने भइरहेको थियो, आज मजाले लेखिदिएँ ।’ जनताबाट आएको गुनासो र सुझावहरुको कार्यान्वयन हुनुपर्ने श्रेष्ठले मागसमेत गरे ।
डिएसपी सञ्जयसिंह थापाले प्रहरी संगठनले सेवाग्रहीहरुको अपेक्षा बुझेर त्यसैअनुरुप कार्यनीति बनाउन अधिराज्यव्यापीरुपमा नै संकलन भइरहेको बताए । एक सातासम्म जनताबाट संकलन गरिने अपेक्षालाई जिल्ला, अञ्चल, क्षेत्रीय कार्यालय हुदै हेडक्वार्टरमा पुर्याउने उनले बताए । ‘प्रहरीलाई कसरी नागरिक मैत्री बनाउन सकिन्छ, जनताले कस्तो अपेक्षा गरेका छन् भनेर संकलन गरिरहेका छौं’–डिएसपी थापाले भने–‘देशैभरिबाट आएका अपेक्षाहरुलाई हेडक्र्वाटरले विश्लेषण गरेर कार्यनीति बनाएर त्यसैअनुरुप प्रहरी परिचालन हुने हो, जनतामुखी सेवा दिने र पारदर्शी बनाउने हो ।’ उत्कृष्ट सुझाव लेख्नेलाई पुरस्कृत पनि गरिने उनले जनाए । जनताको सुझावले प्रहरी संगठनमा भएको कमीकमजोरी सुधार गर्न सहयोग पुग्ने प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे