धरान नगरपालिकाको ३२ करोडको बजेट सार्वजनिक


धरान । नगरपरिषदबाट पारित भएको आर्थिक बर्ष ०७१/७२ को नीति तथा कार्यक्रम र बजेटलाई धरान नगरपालिकाले सार्वजनिक गरेको छ ।
नगरपालिकाले आइतबार एक कार्यक्रम आयोजना गरी आर्थिक बर्ष ०७१/७२ को लागि अनुमानित कुल ३२ करोड २४ लाख ६२ हजार ५ सय रुपैयाको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यो नीति तथा कार्यक्रम र बजेटलाई पुस २९ गते सम्पन्न नगरपालिकाको २० औं नगर परिषदले पारित गरेको थियो । कार्यकारी अधिकृत भोजराज खतिवडाले प्रस्तुत गरेको बजेटमा नगरपालिकातर्फको आयको अनुमान भने २२ करोड २४ लाख ६२ हजार ५ सय मात्रै हो । कुल बजेटमा समावेश १० करोड रुपैया एकीकृत शहरी विकास आयोजनाअन्र्तगतको खानेपानी आयोजनाको हो । यो कुल बजेटको ३१.०१ प्रतिशत हो । यो बजेट आयोजनाको भएपनि नगरपालिकाकै कार्यक्रम भएकोले त्यसलाई पनि थपेर कुल बजेट ३२ करोड पुगेको हो ।

परिषदले विगत बर्ष स्कीकृत भएर सम्पन्न हुन बाँकी योजनाहरु, बढी भन्दा बढी स्थानीय बासिन्दाको सहभागिता, स्थानीय श्रम, सीप र रोजगारी प्राप्त हुने योजनाहरु, स्थनीय जनताको मागमा आधारित र स्थानीय श्रोत साधानले धान्न सक्ने दिगो प्रकृतिका योजनाहरुलगायतमा आधारित भएर बजेट तथा कार्यक्रम तयार गरेको नगरपालिकाले जनाएको छ । बजेट तथा कार्यक्रममा नगरपालिकाको दीर्घकालीन लक्ष्य अनुसार क्षेत्रगतरुपमा नीतिहरु त्य गरी बजेट कार्यान्वयन गर्दै लैजाने प्रयास गरिएको छ । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा संचालन हुने खानेपानीलगायतका आयोजनालाई उच्च प्राथमिकता दिइएको छ भने आन्तरिक श्रोत वृद्धि र परिचालनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अगाडि सारिएको छ । ‘नगरपालिकाको श्रोत वृद्धि र परिचालनमा सुनसरी उद्योग वाणिज्य संघ र अन्य संस्थाहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउने नीति लिइएको छ’–कार्यकारी अधिकृत खतिवडाले भने–‘पुराना सम्झौता भइसकेका योजनाहरुलाई पुरा गरेर मात्र नयाँ योजना सञ्चालन गर्ने, जनसहभागितामा आधारित योजना तथा कार्यक्रमहरु बनाउने प्रयास भएको छ ।’


अनुमानित कुल बजेटमध्ये प्रशासनिक खर्च र सामाजिक परिचालनसमेत गरी जम्मा १६.१६ प्रतिशत र पूँजीगततर्फ एकीकृत सहरी विकास आयोजनाबाहेक खर्च ५२.८४ प्रतिशत विनियोजना गरिएको छ । त्यसैगरि, कुल बजेटमा लक्षित वर्गतर्फ ३.०३ प्रतिशत, प्रर्वद्धनात्मक क्षेत्रमा २.२८ प्रतिशत र एकीकृत सहरी विकास परियोजनामा ३१.३१ प्रतिशत बजेट विनियोजना गरिएको छ । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै कार्यकारी अधिकृत भोजराज खतिवडाले जनताको सुझाव तथा माग र आवधिक योजनालाई ध्यानमा राखेर बटेज तथा कार्यक्रम तयार गरिएको बताए । यद्यपी, नगरपालिका जनप्रतिनिधिविहिन अवस्थामा भएकोले सबै काम कर्मचारीहरुले गर्नुपर्दा असजिलो भएको पनि उनले खुलाए ।


नगरपालिकाको स्रोत सिमित रहेको तर नगरबासीको माग तथा आकांक्षा उच्च रहेकोले ती सबै मागलाई एकै आर्थिक बर्षमा पुरा गर्न सम्भव नभएको पनि अधिकृत खतिवडाले बताए । ‘जनप्रतिनिधिले नेतृत्व गर्ने गरी ऐन नियममा व्यवस्था गरिएको स्थानीय निकायहरुमा कर्मचारीले ती सबै कामहरु गर्नुपर्दा धेरै नै असजिलो महशुस हुनु स्वभाविकै हो’–कार्यकारी अधिकृत खतिवडाले भने–‘तर पनि नियम, कानुनको अधिनमा रही नगरपालिकाको स्रोत र साधानको अत्युत्तम उपयोग गर्दै मुख्यत ः वडा भेलाहरुबाट आएको सुझाव तथा मागहरु र आवधिक योजनालाई ध्यानमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।’ नगरपालिकाका योजना शाखा अधिकृत एवं इञ्जिनियर सुरज श्रेष्ठले पनि जनप्रतिनिधि नभएको अवस्थामा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न सहज नभएको बताए । नगरको आन्तरिक आम्दानी अपेक्षा गरेअनुसार बढ्न नसकेको भन्दै उनले सीमित स्रोत, साधानमा भर परेको र अल्पकालीन योजनाहरुले प्राथमिकता पाएको बताए । कार्यक्रमलाई पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारी, पूर्वनगरप्रमुख कुमारबाहदुर कार्की, सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

                    उत्कृष्ट तीन करदातालाई सम्मान


धरान नगरपालिकाले तीन जना करदातालाई सम्मान गरेको छ । कर मात्रै उठाउने गरेको भन्दै आलोचना खेपिरहेको नगरपालिकाले यसपटक करदातालाई सम्मान गरेर आफ्नो छवि सुधार्ने प्रयास गरेको हो । ‘कर मात्रै उठाउने होइन, करदाताहरुलाई सम्मान पनि गर्नुपर्छ भनेर यो पटकदेखि थालिएको हो’–वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘कर तिर्नु भनेको सम्मानित हुनु हो भन्ने भावना सबै करदाताहरुमा जगाउने प्रयास हो ।’
नगरपालिकाले उत्कृष्ट करदाताकोरुपमा गणेश सिनेमा हलकातर्फबाट सञ्चालक अनिल श्रेष्ठ र व्यावसायीद्धय निर्मलकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल छन् । उनीहरुलाई कार्यकारी अधिकृत भोजराज खतिवडा, प्रमुख अतिथि एवं क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकरीले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए ।



             (०७० माघ ६ गतेको नागरिक दैनिक पूर्वेली सँस्करणमा प्रकाशित)

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे