मन्दिर सफाईमा धरान मोडेल कलेजका विद्यार्थीहरु


धरान । शनिबार सार्वजनिक विदाको दिन । एक हुल विद्यार्थीहरु कोही कलेज ड्रेस, कोही सादा पोशाकमा भेला भए, अनि धरान १ मा पर्ने सिंहदेवी चोकतिरबाट विजयपुर डाँडातर्फ उक्लिए ।
हिडेरै दन्तकाली मन्दिर पुगेपछि भने ती विद्यार्थीहरु हातमा झाडु र फोहोर उठाउने बोकेर मन्दिर वरीपरी सफाई गर्न थाले । धरान ४ स्थित धरान मोडेल कलेजले बार्षिक खेल सप्ताह अन्र्तगत शनिबार विद्यार्थीहरुलाई धरानको प्रसिद्ध मन्दिरहरुको सरसफाई अभियानमा सहभागी गराएको थियो । मन्दिर सफाई अभियानमा स्नातक तहमा अध्ययनरत करिब पाँच दर्जन छात्रछात्राहरु सहभागी थिए ।
खेल सप्ताह भएपनि विद्यार्थीहरुलाई सामाजिक दायित्व एवं कर्तव्य बोध गराउन मन्दिर सरसफाई कार्यक्रममा सहभागी गराएको शिक्षक एवं सफाई कार्यक्रमका संयोजक ताराकुमार राईले बताए । ‘कलेजमा शैक्षिक गतिविधि त सधै भइरहन्छ, तर यो समाज हाम्रो हो, यहाँको सम्पदा पनि हाम्रै हो, सामाजिक दायित्व हामीले नै वहन गर्नुपर्छ भन्ने भावना जगाउन पनि यस्तो कार्यमा विद्यार्थीलाई सहभागी गराएका हौं’–संयोजक राईले भने–‘सफाई अभियानले धरानलाई स्वच्त, हराभरा राख्नमा पनि मद्दत पुर्याउछ ।’
दन्तकाली शक्तिपिठ परिसर सफाई गरेपछि विद्यार्थीहरुले प्रसिद्ध बुढासुब्बा मन्दिर र पिण्डेश्वर मन्दिर परिसरमा पनि पुगेर सरसफाई गरेका थिए । दिनहुँ सयौं भक्तजनहरु आउने भएकोले यी मन्दिर परिसरमा फोहोर जम्मा हुने गर्छ । विद्यार्थीहरुले ती फोहोरलाई एक जम्मा गरी जलाएर नष्ट गरेका थिए । आफुहरुको सरसफाई कार्यक्रमले अन्यलाई पनि फोहोर नगर्न सन्देश पुग्ने विद्यार्थीहरुले बताए । ‘जथाभावी फोहोर गर्नुहुन्न, मठमन्दिरलाई सफा राख्नुपर्छ भन्ने मानसिकता जगाउछ’–बि.ए.तेस्रो बर्षकी छात्रा विर्सना लिम्बूले भनिन् ।
पुस २३ गतेदेखि खेल सप्ताह शुरु गरेको यो कलेजले विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन गरिरहेको छ । सोमबार रक्तदान कार्यक्रम आयोजना गरेर खेल सप्ताहको समापन हुने र त्यसैबेला विभिन्न प्रतियोगिताहरुका विजेतालाई पुरस्कार पनि दिइने सहायक क्याम्पस प्रमुख योगेन्द्र पालुंवाले बताए ।

  







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे