आगो र कोलाहलबीच आपतकालीन प्रतिकार्य तालिम


धरान । ‘ऐइया..मलाई बचाउनुस्..।’ ‘बचाउ..कोठा बन्द भएर मर्न लागे..।’ शुक्रबार बिहान धरान ८ स्थित सभागृहमा यस्तै चित्कार र कोलाहल थियो । सभागृहको भौतिक संरचनाहरु अस्तब्यस्त । कोही बन्द कोठाबाट चिच्याइरहेका थिए । कोठाभित्र कोही सामानले थिचिएका थिए, जो आफुलाई त्यहाँबाट निकाल्न भन्दै सहयोगको आग्रह गरिरहेका थिए । दृष्यले लाग्थ्यो, भर्खरै भुकम्प गएको थियो ।
‘कोही हुनुहुन्छ, हामीलाई संकेत दिनुहोस, हामी उद्दारकर्मी हौं’–चिच्याहट र कोलाहलकै बीचमा केही व्यक्तिहरु हतारिदै त्यहाँ पुगे । एक लहरबाट उनीहरु अस्तब्यस्त कोठा चहार्दै र घाइतेहरुको अवस्था बुझ्दै गए । ठिक त्यसैबेला सभागृहको बाहिर(परिसर)मा भने आगो लाग्यो । धन्न, उद्दारकर्मीहरु समयमै पुगेर आगोमा पानी छ्याप्दै निभाउन सफल भए ।


शुक्रबार बिहान सभागृहस्थल करिब तीन घण्टा यस्ता दृष्य दोहोरिरह्यो । एक्कासी सभागृहस्थल पुग्दा देखिने अत्यासलाग्दो यी दृष्य भने आपतकालीन प्रतिकार्य तालिमको क्रममा भएको प्रयोगात्मक अभ्यासको हो । धरान नगरपालिका र भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले संयुक्तरुपमा मंगलबारदेखि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आपतकालीन प्रतिकार्य तालिम दिइरहेको छ । त्यसैक्रममा शुक्रबार बिहान करिब तीन घण्टा सरल खोज तथा उद्दार कार्यको प्रयोगात्मक अभ्यास भएको थियो । ‘कुनै दैवी प्रकोप आइलाग्दा सरल खोज तथा उद्दार कसरी गर्ने भनेर प्रयोगात्मक अभ्यास भइरहेको हो’–समाजका निर्देशक गणेशकुमार जिमीले प्रष्ट्याउदै भने–‘घटनास्थलमा उद्दारटोली तत्कालै आइनपुग्न सक्छ, त्यस्तो अवस्थामा समुदायले कसरी काम गर्ने भनेर सिकाउदैछौं ।’
जिमीका अनुसार धेरै कोठा भएको भवन भित्रभित्रै धेरै क्षति भएको अवस्थामा कसरी उद्दार गर्ने भनेर सभागृहभित्र प्रयोगात्मक अभ्यास भएको हो । यस्तै, कुनै गह्रौं बस्तुले मान्छे किचिएमा कसरी सुरक्षितरुपमा उद्दार गर्ने, आगलागीको प्रतिकार्य कसरी गर्ने तथा पीडितहरुको सुरक्षित उद्दार र स्थानान्तरणबारे प्रयोगात्मक अभ्यास भएका हुन् । ‘गह्रौं बस्तुलाई सजिलै पल्टाउन सकिन्छ, तर त्यसभित्र मान्छे किचिएको भए त्यसरी उठाएर हुन्न, ज्यादै संवेदनशील भएर त्यो बस्तुलाई उठाउनुपर्छ’–प्रयोगात्मक अभ्यासबारे जिमीले भने–‘आगलागी भएमा सबै पानी छ्याप्न लाग्नुभन्दा लहरै उभिएर पानीको मुहानबाट एकले अर्कोलाई बाल्टीमा पानी दिएर छ्याप्दा छिटो आगो निभाउन सकिन्छ ।’


माघ ७ गतेदेखि शुरु भएको आपतकालीन प्रतिकार्य तालिममा ३ दिन सरल खोज तथा उद्दार को तालिम भएको आयोजकले जनाएको छ । यसैगरि, शनिबार एक दिने आधारभुत आकस्मिक उपचार तालिम दिइनेछ भने आइतबार क्षति आँकलन र सोमबार औजार पूनरावलोकन गर्ने कायृक्रम रहेको छ । तालिममा नगरपालिकाका कार्मचारी, नेपाल रेडक्रस सोसाइटी, उप्का नेपाल, नेपाल स्काउट, रोटरी क्लब अफ धरान, रोट्याक्ट क्लब अफ धरान घोपा, लियो क्लब, युवा सञ्जाल, सम्याक शिक्षा समुहलगायत संघसंस्थाबाट २४ जना सहभागी रहेको नगरपालिकाले जानकारी दिएको छ । सहभागीहरुलाई गणेश कुमार जिमी, सुरेश चौधरी, मनिषा पन्थ, रचना कंसाकार, निशा श्रेष्ठले तालिम दिइरहेका छन् ।
तालिममा सहभागी मध्येबाट १० जनाको कोर टिम बनाउने र उनीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिलाउने नगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले बताए । उनका अनुसार प्रशिक्षक प्रशिक्षण तालिम लिएकाहरुबाट पुनः वडास्तर एवं समुदायस्तरमा आपतकालीन प्रतिकार्य तालिम दिएर समुदायलाई नै उद्दारटोलीकोरुपमा खडा गरिनेछ । ‘कुनै विपद् आइपर्दा उद्दार टोली आइपुग्न समय लाग्छ, त्यसैले समुदायलाई नै तालिम दिएर परिपक्क बनाउने हो भने उद्दारटोली पर्खिरहनुपर्दैन’–इञ्जिनियर श्रेष्ठले भने–‘त्यसैले कोर टिमलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर पुनः समुदायलाई प्रशिक्षित गर्नेछौं ।’








 तस्बिर क्याप्सन:
सभागृहमा शुक्रबार बिहान सरल खोज तथा उद्दार कार्यको प्रयोगात्मक अभ्यास गरिदै ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे