इथिक्सलाई मेडिकल शिक्षामा समेट्न नेपालमा बायोइथिक्स युनिट


धरान । चिकित्सा पेशामा गुणस्तरीय सेवा, डाक्टर र विरामीबीचको सम्बन्ध तथा नैतिक मुल्य, मान्यताको मुद्दा सबैतिर उठ्न थालेपछि युनेस्को चेयर बायो इथिक्सको नेपालमा पहिलो पटक युनिट स्थापना भएको छ ।
गुणस्तरीय सेवा प्रदान गर्नुका साथै चिकित्साशास्त्रको पाठ्यक्रममा नैतिक मुल्य,मान्यतालाई समेट्ने र सेवा प्रदायक तथा सेवाग्राहीबीच सम्बन्ध गाढा बनाउने उद्देश्यले युनेस्को बायोइथिक्सको युनिट स्थापना गरिएको हो । उक्त युनिटको बिहिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औपचारिक घोषणा गरिएको थियो । युनिटको प्रमुखमा प्रतिष्ठानकी पूर्वशिक्षाध्यक्ष एवं प्रा.डा.रुपाराज भण्डारी सिंह रहेकी छिन् भने सदस्य सचिवमा डा.धनरत्न शाक्य छन् ।
नेपालका विभिन्न स्वास्थ्य संस्था एवं मेडिकल कलेजका चिकित्सकहरुलाई समेटेर एघार सदस्यीय युनिट गठन गरिएको छ । युनिटले गुणस्तरीय सेवा, पाठ्यक्रममा नैतिक मुल्य, मान्यता समावेश गराउने र व्यावहारमा लागु भए नभएको बारेमा निरन्तर अनुगमन गर्ने प्रमुख डा.रुपाराज सिंह भण्डारीले बताइन् । ‘अहिले विश्वभर नै इथिक्सको कुरा चर्कोरुपमा उठिरहेको छ, त्यसैले हामीले पनि मेडिकल कलेज वा स्वास्थ्य संस्थाको पाठ्यक्रम तयार गर्दा होस्, वा पारिमार्जन गर्दा इथिक्सलाई समावेश गराउन पहल गछौं’–प्रमुख भण्डारीले भनिन्–‘हामीले व्यहावरमा परिवर्तन ल्याउनुपर्छ, त्यसको लागि करिकुलममा नै इथिक्सलाई समेट्नुपर्छ । सेवा र अनुसन्धानको क्रममा पनि इथिक्समा रहेर हुनुपर्छ ।’


युनिटमा प्रा.डा.सुमन रिजाल, डा.गुणराज लोहनी, प्रा.डा.समी लामा, डा. शंघरत्न बज्राचार्य, डा.रविराम श्रेष्ठ, डा.कृष्णसागर शर्मा, डा. चन्द्रप्रकाश पाण्डे छन् । यसैगरि, कानुनी सल्लाहरकोरुपमा विपुलेन्द्र चक्रवर्ती र युनेस्को बायो इथिक्सका एसिया प्यासिफिक प्रमुख डा.रसेल डिसुजा पनि सदस्यका रुपमा छन् । युनेस्को बायोइथिक्सको युनिट स्थापना गराउन नेपालबाट विभिन्न ३ स्वास्थ्य संस्थाहरुले पहल गरेपनि युनेस्कोले बीपी प्रतिष्ठानमा युनिट स्थापना गर्ने निर्णय गरेको थियो । युनिटका सचिव डा.धनरत्न शाक्यले चिकित्सा क्षेत्रका सेवा प्रदायक र सेवाग्राहीबीचको अधिकार सुनिश्चित गर्नको लागि मेडिकल शिक्षा, अनुसन्धान र सेवालाई इथिक्सभित्र समेटेर थप प्रभावकारी बनाइने बताए । युनिटले नेपालका मेडिकल कलेजहरुमा पाठ्यक्रममा इथिक्सलाई समावेश गराउन सहजीकरणको भुमिका खेल्ने र अनुगमन गर्ने बताए । ‘इथिक्सको बारेमा, सेवाग्राही र सेवाप्रदायकको अधिकार सुनिश्चित गर्न तालिमहरु हुन्छन्, पाठ्यक्रम पारिमार्जन गरिनेछ र अनुगमन गरिनेछ’–डा.शाक्यले भने ।


बायो इथिक्स युनिट नेपालको लागि अतिआवश्यक रहेको भन्दै प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासले चिकित्सा क्षेत्रमा नैतिक मुल्य, मान्यताको अभाव भएकोले नै जटिल समस्याहरु भोग्नु परेको बताए । ‘यो युनिट राष्ट्रकै आवश्यकता हो, हामीले नैतिकता, मुल्यमान्यताबारे पढाएनौं, सिकाएनौं’–उपकुलपति डा.दासले भने–‘विरामीसँग कसरी डिल गर्ने ? कसरी फेस गर्ने ? कस्तो व्यहार गर्ने र बोल्ने भनेर सिकाएनौं, त्यसको असर तपाई,हामी सबै डाक्टरहरुले भोग्नुपरिरहेको छ ।’ शिक्षाध्यक्ष डा. बिक्रम श्रेष्ठले पनि बायोइथिक्स युनिट स्थापना हुनु स्वागत योग्य भएको बताए । कार्यक्रममा उपस्थित युनेस्को बायोइथिक्स प्यासिफिक एसियाका प्रमुख डा.रसेल डिसुजाले कक्षा कोठामा मात्रै इथिक्सलाई सिमित नराखेर व्यहावरमा नै लागु गर्नुपर्ने बताए ।
बिहिबार नै प्रतिष्ठानको अडोटोरियम हलमा बायोइथिक्सको बिषयमा चिकित्सकहरुबीच वृहत गोष्ठीसमेत भएको थियो । गोष्ठीमा विभिन्न बिषयमा डा.धनरत्न शाक्य, विपुलेन्द्र चक्रमवर्ती, प्रा.डा.रसेल डिसुजा, प्रा.डा.रुपाराज भण्डारी सिंह, बायोइथिक्स भारतका प्रमुख प्रा.डा.बालकृष्णनन्, डा.कृष्ण अर्यालले आफ्नो धारणा एवं कार्यपत्र प्रस्तुत गरेका थिए ।








Comments

  1. नेपालमा हुने बायोमेडिकल अनुसन्धानको झन्दै ५० प्रतिशत यस वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हुने गरेकोमा यो युनिट यहि स्थापना हुनेले यसको महत्व लाई प्रमाणित गरेको छ @ www.drsathi.blogspot.com !!~

    ReplyDelete
  2. This is good news. Congratulation BPKIHIS !!

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे