उदय र मनिला सोताङको कर्णप्रिय गीतसँग मुग्ध हुँदा...(फोटोफिचर)


भर्खर ‘टिनएज’ लाग्दै गरेको बेला तिमी बिना बाँच्न गाह्रो भो.., माया नमार है.., हजार जुनिसम्म...जस्ता गीतहरु खुब सुनिन्थ्यो । उमेर नै त्यस्तो, सेन्टिमेन्टल गीतको क्यासेट किनेरै ल्याएर सुन्थे, गुन्गुनाउथे । विभिन्न गायकहरुको गीतको संग्रह पनि बजारमा निस्केको हुन्थ्यो, त्यो पनि किन्ने चलन थियो । सेन्टीमेन्टल गायक, गायिका असाध्यै मन पर्ने । उदय र मनिला(उ र म दम्पत्ति) सोताङ मेरो प्रिय गायक÷गायिका भइसकेका थिए ।
धरानमा थुप्रै मेला, उत्सवहरु बर्षेनी हुन्छन् । कन्सर्टहरु पनि भइरहन्छ । ती उत्सव र कन्सर्टहरु नेपालका थुप्रै नयाँ तथा पुराना गायक गायिकाहरुलाई प्रत्यक्ष सुनिसकियो, तर उ र म जोडीलाई प्रत्यक्ष सुन्ने अवसर कहिल्यै पाएको होइन । बरु केही महिनाअघि पब्लिक स्कुलको मैदानमा आयोजित टुबोर्ग कन्सर्टको बेला छोरी श्रेयालाई प्रत्यक्ष सुनियो । अरुको झै मेरा पनि प्रिय यी गायक/गायिका दम्पत्ति किन त्यसरी उत्सव तथा सांगीतिक कार्यक्रमतिर नआएका होलान् ? मलाई यो प्रश्नले हिर्काइरहेको छ । उनीहरुलाई सुन्न टिभी वा रेडियो÷एफएम खेल्नुपर्छ कि सिडि खरीद गर्नुपर्छ । अझ लाइभ सुन्ने चाहना भए साँझमा काठमाण्डौंको दरबारमार्गस्थित मधुशालामा नै पुग्नुपर्छ । त्यो सधै र सबैलाई सम्भव हुन्न । करिब तीन बर्षअघि दुवैको धरानमा गजल साँझ भएछ, मैले पत्तो पाइन । पत्रपत्रिकाहरुमा समाचार आएपछि मात्रै थाह भयो । आफै पनि पत्रकारिता पेशामा संलग्न रहेपनि सोताङ दम्पत्तिको कार्यक्रमबारे सुइको थाह भएन । म त्यतिबेला थकथकी भएको थिए ।

साता दिनअघि धरानको बजार क्षेत्रमा उदय र मनिला सोताङको युगल तस्बिरसहित दोस्रो गजल साँझ हुने फ्लेक्स, ब्यानर राखेको देखेपछि मन रमाएको थियो । अघिल्लो पटक झै मौका नगुमोस भनेर कार्यक्रम आयोजक, स्थान र मितिलाई कन्ठै पारेको थिए । केही दिनपछि आयोजकले कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन गर्यो, त्यसपछि त ‘ग्रान्ड गजल नाईट २’ मा आफ्ना प्रिय गायक/गायिकालाई प्रत्यक्ष सुन्न पाउने पक्का भयो । कार्यक्रम माघ १६ गते शहिद दिवसको अवसमा धरान १० स्थित सैनिक भवनमा हुने जानकारी पाइयो । आयोजकले सशुल्क उदय र मनिलालाई सुन्ने व्यवस्था गरेको थियो, तर पत्रकारकोरुपमा निम्तो पाएकोले मैले टिकटको शुल्क तिर्नु परेन । श्रीमति सविता जीलाई पनि एउटा टिकट लिइदिए ।
आयोजकले टिकटमा समय दिनको एक बजे तोकेको थियो । आफ्ना प्रिय गायक जोडीलाई प्रत्यक्ष सुन्न धराने फ्यानहरु हत्तारिदै सैनिक भवनमा दिउँसै पुगेका थिए । म भने कामको ब्यस्तताले अढाई बजेतिर मात्रै पुगे । तर, त्यतिबेला पुग्दा पनि कार्यक्रम शुरु हुने छाँट थिएन । केही समयपछि गायक दाजु किसोर थुलङले खोकु छिन्ताङ दुख्यो कि..बोलको आफ्नो चर्चित गीत प्रस्तुत गर्दै कार्यक्रमको प्रारम्भ गर्नुभयो । उहाँले कार्यक्रमको उद्घोषणको जिम्मा पाउनु भएको रहेछ । प्रिय गायक /गायिका कार्यक्रम हलमा प्रवेश गरिसक्नुभएको थियो ।


निर्धारित समयभन्दा २ घण्टा ढिला कार्यक्रम शुरु भएपनि अब चाडै उदय र मनिलालाई सुन्न पाइएला भन्ने आशा थियो, तर त्यसपछिको कार्यक्रम तालिकाले भने झन् पट्यारलाग्दो बनायो । धराने माइला, विना लिम्बू, बबिन लिम्बू, तुहिन लिम्बू, कार्यक्रमकी संयोजक हर्षु राईलगायतको गायन प्रस्तुती र बीच बीचमा नृत्यले कार्यक्रम लम्बिएको लम्बिएकै थियो । हुन त गजल नाइट भनिएको कार्यक्रम भएर पनि होला आयोजकले झमक्कै रात पार्न खोजेको । तर, कार्यक्रमको सेड्युलले भने स्रोताहरुलाई निक्कै हैरानी र तनाव बढाइदिएको थियो । गायक दम्पत्ति करिब पौने ७ बजे मात्रै स्जेटमा झुल्किए । त्यसअघि स्थानीय कलाकारहरुको गायन र नृत्य प्रस्तुत भएपनि स्रोताहरुको मन भुलाउन सकेन । तर, कार्यक्रम ढिला हुँदाको फाइदा भने धराने फ्यानहरुलाई नै भयो । कार्यक्रमस्थलको औपचारिक उद्घाटन पछि गायक जोडी हल बाहिर बसेका थिए । त्यसअवधिमा दुवैका फ्यानहरु आफ्ना प्रिय गायक,गायिकासँगै बसेर फोटो खिचाउने अवसर पाए, मैले पनि त्यो मौका गुमाइन् । त्यसक्रममा एकछिन दाई भाउजुसँग भलाकुसारी गरे । दुवैको धरानमा तेस्रो पटक कार्यक्रम हुदै रहेछ । दुई पटक सैनिक भवनमा र पहिलो पटक निक्कै बर्षअघि गणेश टाँकिजमा भएको थिएछ ।

प्रतिक्षाको फल मिठो हुन्छ भने झै उदय र मनिलाको जोडीले जब मधुशालाको वाद्यवाधन टिमसहित स्टेजमा पुग्यो, त्यसपछि धरानेहरुको छटपटी, ब्यग्रता सबै हरायो । ‘स्वागत छ यहाँहरुलाई यो महफिलमा’–स्रोताको ब्यग्रतालाई राम्रो नियालिसकेका उदयले स्टेजमा पुगेलगत्तै ओजिलो स्वरमा भने–‘यहाँहरुले धेरै कुर्नु भयो, अब सुन्ने पालो ।’ उनले यसो भन्दा पर्रर्र छुटेको तालीको गडगडाहट अन्तिम प्रस्तुतीसम्म निरन्तर जारी रह्यो । उ र म जोडीले आफ्नो चर्चित एवं कर्णप्रिय गीत आधी बाटो हिडेपछि...बोलको गीतबाट प्रस्तुती शुरुवात गरे । यो गीत बिहेपछि मात्रै गाउन पाएको भन्दै उदयले बिहे अघि गाउन पाएको भए अझ मुडमा गाउथ्यौं भन्दै स्रोताहरुलाई हँसाए । ठट्टा गर्न उदय खप्पिस रहेछन् । प्रत्येक गीत गाउनुअघि यस्तै रमाइलो प्रसंग कोट्याउदै कार्यक्रमस्थललाई हाँसोमय पनि बनाइदिन्थे । स्टेजमा उभिएर फोटो सेसन गराउथे भने सँगै नाचेर माहौल रोमान्टिक पनि बनाईदिन्थे । खचाखच स्रोताहरुले दुवैको प्रत्येक गीतमा उतिकै साथ दिए । स्रोताहरुले सँगै गाउथे र, गीत सकेपछि तालीको हडगडाहटले कार्यक्रम हल गुञ्जिन्थ्यो ।
उ र म जोडीले क्रमशः माया नमार..,हजार जुनिसम्म.., तिमी बिना बाँच्न गाह्रो भो.., मनको बाँधलाई बाँधन सिक पगली.., आज तिम्रो कुरा चल्यो...,दुख्छ छाती रातभरी..,छिनछिनमै हाँस्न मन लाग्छ...,भिज्यो सिरानी रातमा..,वारी खोला पारी नि खोला...,उकाली चढौला, ओराली झरौला..लगायत एक दर्जन बढी गीत प्रस्तुत गर्दै धराने संगीत पारखीहरुको मन जिते । कहिले उदयको एकल गायन हुन्थ्यो त कहिले मनिलाको । उनीहरुले स्रोताहरुको फमाइसमा पनि गाइदिए । पुरानो चर्चित गीत अधरमा मेरो.. र भनिदेउ आज के छ मनमा..बोलको गीत मनिला सोताङको स्वर रहेछ, त्यसै दिन थाह भयो । म, शुलभ गजमेर र राम साम्पाङ भाञ्जा छक्क पर्यौं ।

धराने संगीत पारखीहरुको साथ पाएर गायक उदय मख्खै परेछन् । ‘हामी धरान आउदा तपाईहरुको असाध्यै माया, प्रेम र स्नेह पाएका छौं, सधै यसरी नै पाइरहु’–उनले भने–‘हामी पनि यसरीनै तपाईहरुलाई गीत,संगीत पस्किएर खुशी बनाउन सकौं ।’ दुवै निरन्तर गाइरहे, हामीले पनि गाइरह्यौं, ताली बजाईरह्यौं । दुई घण्टा बितेको पत्तै भएन । गायक दम्पत्तिले अन्तिम गीत भनेर उकाली चढौला, ओराली झरौला..गीत गाइसक्दा कति छिटो सकिएको भन्ने महशुस भयो । हामी तीन जनाले वान्स मोर..भनेर चिच्याए पनि काम लागेन । राम भाञ्जा त भन्दै थिए,‘राजेश पायल एक्लैले त २५ वटा गीत गाइदिन्छ, यहाँ दुई जनाले १५ वटा मात्रै गाउने ?’ उनले यसो भनिनसक्दै उदय र मनिला नमस्कार गर्दै हलबाट बाहिरिदिै थिए । जे होस्, यसपटक धरान १९ स्थित आवर होम स्कुलकी सञ्चालिका हुर्ष राई दिदीले प्रिय गायक÷गायिकालाई प्रत्यक्ष सुन्ने अवसर जुटाइदियो । यसको लागि स्कुल र दिदीप्रति आभार । कार्यक्रमको अन्त्यमा भने मधुशालाकै गायक जीवन कलाप्रेमीले पनि गाएका थिए ।
































Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे