एम्बुलेन्स सञ्चालनको वेथिती: सेवा होइन, नाफामुखी


धरान । सुनसरीको डुम्राहास्थित जवाहर शाह स्मृति प्रतिष्ठानले ०५८ सालदेखि एउटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । को १ च ५७४९ नम्बरको एम्बुलेन्स प्रतिष्ठानको डुम्राहास्थित कार्यालयबाट सञ्चालन हुनुपर्ने हो । तर, यो एम्बुलेन्स हरदम धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको ट्याक्सी पार्किङस्थलमा भेटिन्छ । एम्बुलेन्स बिहानै पार्किङस्थलमा आउछ, त्यहीबाट विरामी लैजाने र ल्याउने गर्छ ।
डुम्राहास्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाका कार्यसमिति सदस्य विष्णुदेव मण्डलका अनुसार यो एम्बुलेन्स सञ्चालनमा आएदेखि गाउँ गएको छैन । गत मंसिर ४ गतेको संविधानसभा निर्वाचनको बेला प्राथमिक उपार केन्द्र सञ्चालनको क्रममा एम्बुलेन्स गाउँ ल्याउन आग्रह गर्दा पनि यो एम्बुलेन्स डुम्राहा पुगेन । ‘डुम्राहामा सेवा दिने भनेर एम्बुलेन्स ल्याएको हो, सेवा त गाउँबाटै दिनुपर्ने हो नि’–रेडक्रसका जिल्ला सदस्यसमेत रहेका डुम्राहा निवासी मण्डल भन्छन्–‘तर, यो एम्बुलेन्स गाउँमा होइन, बीपीमा मात्रै बस्छ ।’ जवाहर प्रतिष्ठानका सदस्य सीताराम शाह भने गाउँबाट सञ्चालन गर्दा संस्था नै डुब्ने स्थिति बनेकोले जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर दुई बर्षदेखि धरानबाट चलाउन थालेको दाबी गर्छन् । ‘डुम्राहा र इनरुवाबाट चलाउदा संस्था नै डुब्ला जस्तो भयो, त्यसैले धरानबाटै चलाउन थालेको हो’–उनले भने ।
सर्वसाधारणलाई छिटो छरितो स्वास्थ्य सेवा पुर्याउन भनेर सञ्चालनमा आएका एम्बुलेन्सहरु सेवा र गाउँमुखी भन्दाबढी नाफाखुमी र शहरमुखी भएको एउटा उदाहरण हो यो । राज्यले एम्बुलेन्स सेवा प्रयोजनको सवारीलाई एक प्रतिशत मात्रै भन्सारमा कर लिएर ल्याउने सुविधा दिएको छ । त्यसैको फाइदा उठाउदै विभिन्न संस्थाको नाममा थुप्रै एम्बुलेन्सहरु नेपाल भित्रिएका छन् । ती एम्बुलेन्सहरु सेवा भन्दा बढी कमाउनकै लागि शहरका सरकारी तथा निजी अस्पतालमा मात्रै बस्ने गरेका छन् । कतिपय एम्बुलेन्स चालकले नै संस्थाबाट ठेक्कामा लिएर चलाउने गरको छ । जुन ठाउँको सेवाको लागि संस्था दर्ता भएर सेवा सञ्चालन भएको हो, ती एम्बुलेन्स पनि त्यही ठाउँमा सेवाको लागि राखिनुपर्ने प्रावधान छ । तर, प्रशासन एवं सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नगरिदा विभिन्न जिल्ला र गाउँमा दर्ता भएका संस्थाले सञ्चालन गरेका एम्बुलेन्सहरु त्यही ठाउँमा बस्दैनन् । जसले गर्दा आवश्यक परेको बेला सर्वसाधारणले समयमै एम्बुलेन्स सेवा पाउन सक्दैनन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजी तथा भाडाको सवारीलाई छुट्याएको पार्किङस्थलमा राखिएका एम्बुलेन्सहरु ।
धरानस्थित बीपी प्रतिष्ठानले मेन गेटसँगैको पश्चिम खोली जग्गामा निजी तथा भाडाका सवारी(ट्याक्सी)हरुको लागि पार्किङस्थल छुट्याइदिएको छ । त्यहाँ दैनिक दर्जन भन्दा बढी एम्बुलेन्सहरु पार्किङ गरेको भेटिन्छ । त्यहाँ पार्किङ हुने भाडाका ट्याक्सी र एम्बुलेन्सले बोक्ने विरामी बीपीबाट डिस्चार्ज हुने वा अन्यत्र रिफर हुने विरामी नै हुन् । त्यसैले बेला बेला ट्याक्सी चालक र एम्बुलेन्स चालकहरुबीच झगडा पनि हुनेगर्छ । ट्याक्सी चालकहरुका अनुसार कतिपय एम्बुलेन्सहरु बिहानैदेखि पार्किङ गर्न आइपुग्छन् भने कति विरामी लिएर आएपछि त्यही पार्किङ गरेर बस्छन् । एम्बुलेन्स चालकले डिस्चार्ज भएको विरामी खोज्न आफ्ना मान्छे वार्ड वार्डमा खटाउने गरेको र जथाभावी भाडा असुल्ने गरेको पनि ट्याक्सी चालकहरुको आरोप छ । ‘विरामी अस्पतालसम्म ल्याएर फर्कनु पर्ने हो, तर यहाँ दिनभर, रातभर पार्किङ गरेर बस्छ अनि डिस्चार्ज भएको विरामी खोज्न जान्छ’–घोपा क्याम्प ट्याक्सी व्यावसायी संघका एक पदाधिकारीले भने ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापा बीपी प्रतिष्ठानमा पार्किङ गरेर एम्बुलेन्स चलाउन नियमविपरीत भएकोले कडा आचारसंहिता बनाएर नियमन गर्नुपर्ने बताउछन् । आफन्तको स्मृतिमा संस्था दर्ता गर्ने र भन्सार छुटमा एम्बुलेन्स ल्याएर मनोपलीढंगले सञ्चालन गर्ने प्रवृत्ति बढेको उनको भनाई छ । ‘ल्याएपछि एम्बुलेन्सकोरुपमा चलाए पनि भो, नत्र घरायसी काममा प्रयोग गरे पनि हुन्छ भन्ने प्रवृत्ति छ’–सभापति थापाले भने–‘जहाँको लागि भनेर स्वीकृति लिएको हो त्यही क्षेत्रको जनतालाई सेवा दिन आप्mनो कार्यालयमा बस्नु पर्नेहो , तर अस्पतालमा मात्रै थुप्रिने गरेको छ, यस्तो छाडा एम्बुलेन्सलाई रेडक्रस एक्लैले नियन्त्रण गर्न सम्भव छैन, प्रशासनबाटै पहल हुनुपर्छ ।’ एम्बुलेन्स सेवा सञ्चालन सिफारिश र सेवा निगरानीको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा समिति हुन्छ । सुनसरीका निमित्त प्रजिअ चन्द्रेश्वर पोख्रेलले भने त्यसबारेमा आफुलाई त्यति जानकारी नभएकोले सम्बन्धित एम्बुलेन्स सञ्चालन गर्ने संस्थासँगै बुझ्न आग्रह गरे । सुनसरी एम्बुलेन्स चालक संघका सहसचिव गोविन्द विशंखे भने पार्किङ गरेर राख्न नपाउने स्वीकार गर्दै टाढाका एम्बुलेन्सहरु मात्रै केहीबेर पार्किङ गर्ने दाबी गर्छन् । त्यहाँ भाडाका ट्याक्सीहरुले बढी पैसा असुल्ने गरेकोले एम्बुलेन्स हुँदा विरामीहरुलाई नै सुविधा पुग्ने उनले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजी तथा भाडाको सवारीलाई छुट्याएको पार्किङस्थलमा राखिएका एम्बुलेन्सहरु
रेडक्रसका अनुसार सुनसरीमा मात्रै हाल ४० भन्दा बढी संस्थाका ५८ वटा एम्बुलेन्सहरु सञ्चालनमा छ । एम्बुलेन्सहरु व्यापारीकरण भएको चर्को आवाज उठेपछि करिब दुई बर्षअघि तत्कालीन प्रजिअको संयोजकत्वमा एम्बुलेन्स तथा शव वाहान अनुगमन समिति गठन गरेर जिल्लामा अनुगमन गरिएको थियो । त्यसक्रममा दर्ता नभएको, दर्ता नवीकरण नगरिएको, एक स्थानबाट चलाउने भनेपनि अन्त्रतै(बिशेष शहर)बाट सञ्चालन गरिएको, आवश्यक कागजपत्र नभएको र एउटै व्यक्तिले विभिन्न नाममा संस्था खोलेर व्यापारकोरुपमा एम्बुलेन्स चलाइरहेको फेला परेको थियो । ‘मानबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानको मुख्य कार्यालय दमक ११ झापामा छ, त्यही संस्थाको अध्यक्षले अनाथ असहाय वृद्धा सेवा समिति धरान १९ मा दर्त गरेर एउटा एम्बुलेन्स र शव वाहन धरानबाट पनि चलाएको भेट्यौं’–रेडक्रसका निवर्तमान सभापति वासुदेव गौतम भन्छन्–‘त्यो प्रतिवेदन कार्यान्वयन हुन सकेन, शहरमा धेरै भए, अब गाउँमा मात्रै एम्बुलेन्स सञ्चालनको सिफारिश गरौं भन्दा सफल भएनौं ।’

(०७० माघ २ गतेको नागरिक दैनिकको पूर्वीली सँस्करणमा प्रकाशित)

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजी तथा भाडाको सवारीलाई छुट्याएको पार्किङस्थलमा राखिएका एम्बुलेन्सहरु

             




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे