चतरा बराहक्षेत्र सडक फराकिलो बनाइदै


धरान । पूर्वको प्रमुख धार्मिकस्थल बराहक्षेत्र मन्दिरसम्म पुग्ने चतरा–बराहक्षेत्रको साँधुरो सडक खण्डलाई विस्तार एवं फराकिलो बनाउन थालिएको छ । सडक जीर्ण र साँधुरो हुँदा सवारीसाधान आवागमनमा कठिनाई भइरहेपछि सडक डिभिजन कार्यालय विराटनगरले यो सडक खण्डलाई फराकिलो बनाउन थालेको हो ।
आगामी चैत १७ गतेदेखि चतराधाममा लाग्ने एक महिना लामो महाकुम्भ मेलाको अवसरमा हजारौं सवारीसाधानको आवातजावत हुने भएकोले पनि सहजताको लागि चतरा–बराहक्षेत्र सडकखण्डलाई फराकिलो बनाउन थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो हुदाँ आवागमन सजिलो हुने भन्दै स्थानीय एवं यातायात व्यावसायीहरु खुशी छन् । सडक डिभिजन कार्यालयले पहिलो चरणमा ब्रम्हानन्द पुलदेखि बराहक्षेत्र मन्दिर नजिकको ट्याक्सी स्टेण्डसम्मको बाटोलाई चार दिनअघि देखि फराकिलो बनाउन शुरु गरेको छ । पुलदेखि स्टेण्डसम्मको दुरी करिब डेढ किलोमिटर छ । डोजर प्रयोग गरेर पहाडको भित्ता(चटन फोडेर) बाटो फराकिलो बनाइदैछ । मन्दिरदेखि स्टेण्डको दुरी सय मिटरको छ । सडक साँघुरो र जीर्ण भएकोले चतरादेखि बराहक्षेत्र सडक खण्डमा ट्याक्सी, ल्याण्डरोभर, जीप तथा मोटरसाइकल मात्रै गुड्ने गरेको छ ।

एक महिनाअवधिभित्र चतरा–बराहक्षेत्र सडक खण्डलाई कच्ची दुई लेनको बनाइने सडक सुपरभाइजर राजकुमार कटवालले जानकारी दिए । ‘पहिलो चरणमा ब्रह्मानन्द पुलदेखि ट्याक्सी स्टेण्डसम्म बाटो चौडा गरिन्छ, त्यसपछि चतराघाटसम्मकै बाटो फराकिलो बनाउदै जान्छौं’–सुपरभाइजर कटवालले भने । उनका अनुसार विस्तार गरिने सडकमा दुई वटा गाडी सजिलै ओहोरदोहोर हुनसक्नेछन् । सडक विस्तारको काम महाकुम्भ मेला अघि नै सकिने उनले बताए । विश्वका चार क्षेत्रमध्ये एक बराहक्षेत्र हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल हो । बराह अवतार लिएकार भगवान विष्णु यही बसेको विश्वासका साथ यहाँ तीर्थयात्रीहरुको बाक्लो ओहोरदोहोर हुन्छ । यो सडक हुदै मन्दिरमा दैनिक ५ दर्जन बढी सवारीसाधन गुड्ने गर्छ ।
चतरादेखि बराहक्षेत्र मन्दिरसम्मको करिब साढे ७ किलोमिटर बाटो कहि ४ मिटर त कही ३ मिटर मात्रै चौडा छ । यो सडकखण्ड ज्यादै साँघुरो भएकोले एउटा मात्रै सवारीसाधान मात्रै गुड्न सक्छ । गाडी ओहोर दोहोर गर्न अलिक फराकिलो ठाउँमा एउटा गाडी किनारा लगाउनुपर्ने बाध्यता छ । ‘बाटो फराकिलो हुँदा सबैलाई फाइदा हुन्छ’–ल्याण्डरोभर चालक प्रकाश कार्कीले खुशी हुदै भने । स्थानीय एवं बराहक्षेत्र संरक्षण मञ्चका संस्थापक पूर्वमहासचिव गंगा मगर बाटो विस्तार हुदा स्थानीय व्यापार, व्यावसायीलाई पनि राहत पुग्ने बताउछन् ।


गत बर्ष ब्रम्हनन्द खोलामाथि पक्की पुल बनेपछि मन्दिर नजिकको स्ट्याक्सी स्टेण्डसम्म सवारीसाधान पुग्न थालेको छ । त्यसअघि, ब्रम्हनन्द खोलामा काठको कच्ची पुल हुँदा पुल वारीसम्म मात्रै गाडी जान्थ्यो । त्यहाँबाट करिब डेढ किलोमिटरसम्म स्थानीय एवं तीथालुहरुले पैदल हिड्नुपथ्र्यो । सडक डिभिजन कार्यालयका प्रमुख रामचन्द्र राउतका अनुसार आफ्नै स्रोतसाधानबाट बाटो फराकिलो बनाउने काम भइरहेको हो । सरकारले बजेट निकासा गरिदिएमा यो सडक खण्डलाई विस्तार गरिसकेपछि ग्राभेल गर्ने योजना रहेको पनि उनले खुलाए । ‘अहिले साँघुरो सडकलाई सहज बनाउन फराकिलो बनाउने काम मात्रै हुदैछ, अर्थ मन्त्रालयबाट बजेट निकासा भयो भने चतरा–बराहक्षेत्र सडकलाई ग्राभेल गर्ने काम पनि हुन्छ’–डिभिजन प्रमुख राउतले भने ।
...................

                 साढे ७ कि.मि.बाटोको भाडा ७० रुपैया


चतरा बजारस्थित ट्याक्सी स्टेण्डदेखि बराहक्षेत्र मन्दिर पुग्ने सडक करिब साढे ७ किलोमिटर लामो छ । यो रुटमा चल्ने ट्याक्सीलाई सर्वसाधारण यात्रुले चर्काे भाडा तिर्नु पर्छ । करिब ७ किलोमिटर दुरीको चतरा बराहक्षेत्र सडक खण्डमा चल्ने सवारीमा एक यात्रु बराबर ७० रुपैया भाडा तिर्नुपर्छ । भाडादरबारे बेला बेला आवाज उठ्ने गर्छ, तर ट्याक्सीको सिण्डिकेटअघि केही पार लाग्दैन ।
‘भक्तजन, यात्रुहरुले भाडा महंगो भो भनेर हामीसँग गुनासो गर्नुहुन्छ, हामी केही गर्न सक्दैनौं’–बराहक्षेत्र संरक्षण मञ्चका एक पदाधिकारीले भने–‘यो रुटमा चल्ने ट्याक्सीहरुको सिण्डिकेट प्रथाले समस्या छ ।’ उनका अनुसार बराहक्षेत्र दर्शन गर्न भक्तजनहरुले टाढाबाट रिर्जब गरेको बस साघुरो सडकको कारण चतराभन्दा मास्तिर जानसक्दैन । त्यसबेला ती भक्तजनहरुबाट ट्याक्सी चालकहरुले महंगो भाडा असुल्छन् ।
यो सडक खण्डका ट्याक्सी चालकहरु भने हुटमाथि मान्छे नहाल्ने सर्तमा स्थानीयसँग छलफल गरेर भाडादर कायम गरिएको बताउछन् । यसअघि भाडादर ५५ रुपैया मात्रै रहेकोमा हुटमाथि यात्रु चढाएर जोखिमपुर्ण यात्रा नगराउने सर्तमा ७० रुपैया बनाइएको ट्याक्सी चालक प्रकाश कार्कीले बताए । उनका अनुसार स्टेण्डबाट २० जना मात्रै यात्रु बोकेर ट्याक्सी छुट्नु पर्ने सर्त छ । तर, बाटोमा भने थप मान्छे नचढाई नहुने उनी बताउछन् । उनका अनुसार यो सडक खण्डमा १८ वटा ट्याक्सी चल्ने गर्छ । सुनसरी यातायात व्यावसायी संघका अध्यक्ष रामबहादुर परियारको भनाईमा पहाडी जोखिमपुर्ण बाटो भएकोले भाडादर बढी हुनु स्वभाविक छ । ‘कच्ची सडक हो, जोखिमपुर्ण पनि छ, भाडा बढी त भइनै हाल्छ नी’–उनले भने–‘बाटो राम्रो भइदिने हो भने भाडा पनि केही कम हुन्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे