हङकङबाट ल्याएको ग्लोब र प्याड बक्सिङ संघलाई हस्तान्तरण


धरान । हङकङमा भर्खरै मात्र सम्मान थापेर आएका बक्सिङका प्रशिक्षक दिपक राईले सुनसरी जिल्ला बक्सिङ संघलाई खेल सामग्री सहयोग गरेका छन् ।
एक महिना हङकङ बसेर फर्किएका राईले उतैबाट खरीद गरेर ल्याएको बक्सिङ ग्लोब र प्याड आइतबार संघलाई हस्तान्तरण गरेका छन् । उनले करिब १९ हजार बराबरको २ जोर(४ वटा) ग्लोब र प्याड संघलाई प्रदान गरेको बताएका छन् । उनी हङकङ नेपाली महासंघ र हङकङ झापा मञ्चबाट सम्मान थापेर पुस अन्तिम साता स्वदेश फिरेका थिए । नेपाल फर्कने क्रममा उनले संघ र खेलाडीहरुको लागि आफ्नै खर्चमा ग्लोब र प्याड लिएर आएका हुन् । ‘हाम्रा खेलाडीहरुलाई खेल सामग्री नहुदा अभ्यास गर्न धेरै समस्या छ, त्यसैले उतैबाट आफैले किनेर ल्याएको हुँ’–सामग्री हस्तान्तरण गर्दै प्रशिक्षक राईले भने ।
राष्ट्रिय खेलकुद परिषदले खेलकुद सामग्री नदिने हुदा खेलाडीहरुलाई अभ्यास गर्न र खेल्न निक्कै समस्या भोग्नु परिरहेको जिल्ला बक्सिङ संघका अध्यक्ष किसोर सम्बाहाम्फेले बताए । उनका अनुसार संघसँग दुई,तीन वटा मात्रै खेलाडी अभ्यास गर्न ग्लोब छ, जसले गर्दा अधिकांश खेलाडीहरुले राम्रोसँग अभ्यास गर्न पाउदैनन् । ‘राज्यबाट खेलाडीलाई खेलसामग्री वा बजेट नै पाइदैन, हामीसँग प्राक्टिस गर्न दुई तिन वटा मात्रै ग्लोब छ’–अध्यक्ष सम्बाहाम्फेले भने–‘प्रशिक्षक ज्युको सहयोगले संघ र खेलाडीलाई धेरै राहत पुग्छ, उहाँले व्यक्तिगतरुपमा भएपनि बक्सिङ खेलको विकासमा ठुलो सहयोग गरिररहनु भएको छ ।’ प्रशिक्षक राईको सहयोगले संघ र खेलाडीलाई पनि थप प्रोत्साहन मिल्ने उनले बताए ।


हङकङबाट ल्याएको बक्सिङ ग्लोब र प्याड हस्तान्तरण गर्दै प्रशिक्षक दिपक राई(बायाबाट दोस्रो, चस्मा लगाएका) ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे