‘प्रोड्युसर मुर्गा होइनन्, हाम्रो लागि भगवान’
धरान । नेपालमा बर्षमा दर्जनौं फिल्म बन्छन् । ती मध्ये केही फिल्मले मात्रै लगानी उठाउन वा नाफा कमाउन सक्छन् । हलमा कुन फिल्म आयो, गयो भनेर दर्शकले पत्तोसमेत पाउदैनन् । त्यसैले फिल्ममा लगानी गर्ने निर्माता(प्रोड्युसर)लाई ‘मुर्गा’ भनिने गरिन्छ । फष्टाउन नसेकेको नेपाली चलचित्र उद्योगमा लगानी गरेर ‘मुर्गा’ को उपमा पाएका तिनै लगानीकर्ताको परिचय बदल्ने प्रयासमा चलचित्रकर्मीको एउटा टिम जुटेको छ ।

प्रोड्युसर नेपाली चलचित्र उद्योगको आफ्नै कथा भएको फिल्म बनेको कलाकार राईले दाबी गरे । उनका अनुसार फिल्म क्षेत्रमा आउने सपना बोकेका युवायुवतीहरुको संघर्षको कथा छ प्रोड्युसरमा । ‘सबैलाई सोह्र सत्र उमेरमा हिरो हिरोइन बन्ने रहर जाग्छ, उनीहरुले कति संघर्ष गर्नुपर्छ भन्ने कथा छ’–विल्सनले भने–‘फिल्ममा सधै हिरो हिरोइनमात्रै देखिन्छ, तर पर्दा पछाडि क कस्को हात हुन्छ ? कसरी काम हुन्छ दर्शकलाई थाहै हुन्न । यो समग्रमा हाम्रो कथा हो, नेपाली चलचित्रको कथा हो ।’ फिल्ममा उनी प्रोडक्सन मेनेजरको भुमिकामा देखिनेछन् ।

आरसि पिक्चर्स र द मिडियाज् कलेक्सनको प्रस्तुती रहेको चलचित्र प्रोड्युसरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको लगानी छ । जनकदिप पराजुलीले निर्देशन गरेको यो चलचित्रमा विल्सनबिक्रमबाहेक बाबु बोगटी, श्याम अर्याल, श्वेता भटराई, श्याम राई, पायल रायमाझी, युवराजलामा लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । रिलिज हुँदासम्म ६५ लाख लगानी हुने भनिएको यो फिल्मको छाँयाकन उपत्यका र ६ दिन दोलखामा भएको थियो ।
Comments
Post a Comment