बाँदरको आंतकविरुद्ध संघर्ष समिति, व्यावस्थापन गर्न सरकारसँग गुहार


धरान । ऐतिहासिक विजपपुर गढीस्थित जंगल रहेका बाँदरहरुको वदमाशीबाट आतंकित बनेका धरानबासीहरुले बाँदर व्यवस्थापनको लागि सरकारसँग माग गरेका छन् । पछिल्लो समय बाँदरहरुले ह्रिंसक व्यवहार देखाउन थालेपछि प्रभावित विभिन्न वडाका बासिन्दाहरु संगठित हुदै बाँदरको नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारलाई गुहारेका हुन् । बाँदरको आंतक यति बढेको छ कि प्रभावित क्षेत्रका बासिन्दाहरुले दुई दिन अघि बाँदर व्यवस्थापन संघर्ष समिति नै गठन गर्नु पर्यो । तिनै पीडित वडाबासीहरुले बुधबार नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय र धरानका तीन जना संविधानसभा सदस्यसमक्ष ज्ञानप पत्र बुझाएका छन् । समितिले बुधबार नगरपालिकाका कार्यकारी अधिकृतलाई ज्ञापन पत्र बुझाए भने त्यहीबाट सभासद, वन मन्त्रालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, वन कार्यालयलगायतका निकायमा पनि फ्याक्समार्फत ज्ञापन पठाए ।
संघर्ष समितिले बाँदर व्यवस्थापन नभएसम्म बाँदर रक्षक नगर प्रहरीको व्यवस्था गर्न, प्राविधिक टोलीको सहयोगमा खोर, जाली, पासो वा ड्याटिङ(बेहोस पार्ने सुई) वा डार्टगन(बेहोस बनाउने बन्दुक) प्रगोग गरी राष्ट्रिय निकुञ्ज तथा आरक्षण केन्द्रहरुमा स्थानान्तरण गर्न माग गरेको छ । ‘स्थानान्तरण नभएसम्म समातिएका बाँदरहरुलाई नियन्त्रण गरी नगरपालिका वा अन्य सरकारी वा गैरसरकारी निकायको सहयतामा नियन्त्रणमा राख्ने व्यवस्था गर्न माग गछौं’–कार्यकारी अधिकृतलाई ज्ञापन बुझाउदै संघर्ष समितिका संयोजक सकुल श्रेष्ठले भने–‘अन्य राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा मान्य विधि प्रयोग गरी व्यावस्थापनका उपयुक्त विकल्पको खोजी गरी कार्यान्वयन गर्न पनि माग गछौं ।’


पीडित स्थानीयबासीहरुका अनुसार वदमाशी मात्रै गर्दै आइरहेका बाँदरहरु करिब दुई बर्षयता भने हिंस्रक हुन थालेका छन् । बाटोमा हिडडुल गर्न नसकिने अवस्था आएको छ भने घरभित्र पनि बाँदर पसेर आक्रमण गर्न थालेको पीडितहरुको गुनासो छ । ‘झ्याल ढोका एकछिन खुला भयो भने घरभित्र पसेर सबै विगार गरिदिन्छन्, खाद्यान्न खाइदिन्छ, त्यति मात्रै होइन केटाकेटीलाई चिर्थोन, टोक्न थालेको छ’–धरान २ की लक्ष्मी ढुंगानाले भनिन् । बाँदरको ह्रिसंक व्यवहारले बाटोमा हिड्डुल गर्न पनि नसकिने अवस्था भएको गृहणी सुसिला श्रेष्ठले बताइन् । उनका अनुसार छोरीमान्छे र केटाकेटी बाटोमा हिडेको देख्दा बाँदरहरुको समुहले आक्रमण गर्न पुगिहाल्छन् । ‘हामीलाई त टेर्न छोडिसक्यो, छोराछोरीलाई त स्कुल, बजारतिर पठाउन मुश्किल भयो, रोगहरु लाग्छ भन्ने डर पनि छ’–उनले भनिन् ।
बाँदर आतंकले धरान सबैभन्दा बढी वडा नम्बर १४, २ र ३ का बासिन्दाहरु पीडित छन् । त्यस्तै, वडा ४, ५, ६ १३ र १४ का बासिन्दहरु जंगली बाँदरबाट पीडित छन् । बाँदरको आतंककै कारणले यी वडामा घरजग्गाको भाउ घट्न थालेको छ भने घरका कोठाहरु भाडा लाग्न छोडेको स्थानीयबासीको पीडा छ । विजयपुरबाट हात्तिसार क्याम्पस हुदै रेडक्रस झर्ने बाटो, दुई धारे बाटो हुदै सिंहदेवी चौक झर्ने पैदल यात्री तीर्थालु भक्तजन एवं सर्वसाधारणहरुलाई टोक्न, चिर्थोर्ने गर्दा हिजोआज यो बाटो सुनसान हुन थालेको छ । विजयपुर डाँडा र आसपासमा केन्द्रीय प्रविधि क्याम्पस, विजयपुर उच्चमावि, मेरीगोल्ड, पिण्डेश्वर विद्यापिठ, होलिगार्डेन, दन्तकाली माविलगायत शैक्षिक संस्थाहरु छन् । यस्तै, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बालगायत धार्मिकस्थल पनि भएकोले तीथालुहरुको बाक्लै ओहोरदोहोर हुन्छ । ‘टेलिभिजन, टेलिफोनको तार चुटाइदिने, विद्युत ट्रान्सफरर्मर जलाउनेसम्मका घटनाहरु भएको छ’–संघर्ष समितिका सचिव प्रदिप श्रेष्ठले भने–‘यीनै कारणले घरको कोठा भाडामा लाग्न छोड्यो, घरजग्गा बिक्री हुन छोडेको छ, र भाउ पनि कमी हुन थाल्यो ।’

स्थानीयबासीका अनुसार विजयपुरको जंगलमा सीमित भएको बाँदरहरुलाई वडा १, २ तिरका मारवाडी समुदायका बासिन्दाहरुले हनुमानको रुपमा पुज्न थालेपछि बजार क्षेत्रमा पनि झर्न थालेका हुन् । विजयपुर जंगल क्षेत्रमा करिब दुई हजारको संख्यामा बँदरहरु छन् । ती बाँदरहरु ४, ५ वटा समुह बनाएर हिड्ने गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले बाँदर व्यवस्थापन एवं नियन्त्रण गर्न तत्काल सम्भव नभएपनि नगरबासीको समस्यालाई गम्भीररुपमा लिएर आवश्यक पहल गर्ने बताए । ‘दुःख दिएकोबारेमा थाह छ, थुन्न, मार्न पनि मिल्दैन, सम्बन्धित निकायहरुसँग समन्वय गरेर व्यवस्थापन गर्न प्राथमिकता दिन्छौं’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे