चिकित्सा पेशामा मानवीय संवेदनाको खोजी : पत्रकार, साहित्यकार, गायक, समाजसेवीसँग बहस हुदै
धरान । नेपाली समाजमा डाक्टरलाई भगवानकोरुपमा पुज्छन् तर, कहिलेकही त्यही भगवानप्रति नेपाली समाज आक्रमक पनि हुन्छ । समाजको यस्त्रो दोहोरो चरित्र देखेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी स्वतन्त्र गौतम अचम्मित छन् । उनको मनमा एउटा प्रश्न उब्जिरहन्छ,–‘एकातिर डाक्टरलाई पुज्छन्, अर्कोतिर कुटपिट पनि गर्छन्, किन यस्तो हुन्छ ?’
नेपाली समाज र चिकित्सा पेशाबीच बढ्दो खाडलले विद्यार्थी गौतम झै चिकित्सा विज्ञानका सबै विद्यार्थीहरु चिन्तित छन् । अझ पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा भएको घटनाले चिकित्सा पेशाले ‘मानविय संवेदना’ नभएको भन्दै निक्कै आलोचना पनि खेप्यो । तर, चिकित्सा विज्ञानका विद्यार्थीहरुले आफ्नो प्रश्नको जवाफ पाउन अब धेरै समय कुर्न नपर्ला । परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले शुक्रबारदेखि बीपी प्रतिष्ठानमा दुई दिने ‘चिकित्सा विज्ञान र मानवियताबीच नयाँ आयामहरुको उत्खनन’ बिषयक वृहत अन्र्तक्रियात्मक गोष्ठी हुदैछ ।
नेपालका प्रतिष्ठित चिकित्सक, पत्रकार, साहित्यकार, गायकलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु वक्ता रहने कार्यक्रमले चिकित्सा विज्ञानले पाठ्यक्रममा ‘मानवीय संवेदना’लाई नसमेट्दा पो घटनाहरु दोहोरिएको हो कि भनेर गम्भीर बहस गर्नेछ । ‘कतै हामीले रोगलाई मात्रै उपचार गरिरहेका छौं कि ? रोगसँगै रोगीको पनि विविध पाटाबाट उपचार गर्नु पर्छ कि ?’–गौतमले नागरिकसँग भने–‘ समाजको अपेक्षा कस्तो हुन्छ ? हामीबीच कहीँकतै असमझदारी छ, त्यो पत्ता लगाएर अघि बढ्न चाहन्छौं ।’
जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष एवं डाक्टर विकास गौचनलाई अहिले जेजति घटनाहरु भइरहेका छन्, ती सबै चिकित्सा विज्ञानको पाठ्यक्रममा मानवीय संवेदनालाई समेट्न नसकेर पो हो कि भन्ने लाग्छ । यो वृहत अन्र्तक्रिया चिकित्सा विज्ञानलाई समाज र मानवीय संवेदनासँग जोड्ने अभियान भएको उनी बताउछन् । ‘पाठ्यक्रममा मानवीय संवेदना समेट्नुपर्ने पो हो कि ?’–उनी भन्छन्–‘हामी रोग पत्ता लगाउने कुरा मात्रै सिक्छौं, समाजको संरचना, सँस्कृति र परम्पराहरु कस्तो छ भन्ने कुरा पढ्दैनौं, सिक्दैनौं ।’ समाजका उदाहरणीय व्यक्तित्वहरुका अनुभवले चिकित्सा पेशामा संलग्न तथा भविष्यका चिकित्सा पेशाकर्मीहरुलाई सामाजिक सुधारको अगुवाई गर्ने उत्प्रेरणा मिलोस् भनेर कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । ‘विरामी अस्पताल आउदा रोगलाई मात्रै होइन, उसको मनोविज्ञान, परिवारमा परेको असरलाई पनि बुझ्नसकौं भन्ने हो’–गौचनले थपे–‘किताबी ज्ञानमात्रै लिएकालाई अरु पक्ष पनि समेट्नुपर्छ भन्ने दबाब हुन्छ, चिकित्सा विज्ञानको नीति निर्मातालाई कोर्ष परिमार्जन गर्न झक्झकाउन सक्छ ।’
प्रतिष्ठानको अडोटरियम हलमा हुने दुई दिने कार्यक्रममा वरिष्ठ चिकित्सक डा.भगवान कोइराला, डाक्टर अर्जुन कार्की, वरिष्ठ पत्रकार रविन्द्र मिश्र, साहित्यकार कृष्ण धाराबासी, गायक अमृत गुरुङ, डा.सरोज धिताल, लेखक अजित वराल, पत्रकार किरण नेपाल, बुद्ध एयरका बिरेन्द्र बस्नेत वक्ताकारुपमा रहनेछन् । यसैगरि, प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु डा. नरेन्द्र भट्ट, डा. निशाकेशरी भट्ट, डा.पारस पोख्रेल, डा.बालकृष्ण भटराई, जेआर डा.जगदीश विष्ट, शिक्षासेवी राजविमल श्रेष्ठलगायतको पनि प्रस्तुती रहनेछ । प्रत्येकको आधा घण्टाको बिशेष मन्तव्यपछि सम्बन्धित बिषयमा बहस चिकित्सक, विद्यार्थीहरुसँग बहस हुनेछ ।
कार्यक्रममा साहित्यकार धाराबासीले साहित्य, समाज र मानवीय संवेदनाबारे बोल्नेछन् । पत्रकार रविन्द्र मिश्रले फिलान्थ्रोपिक जर्नलिजमबारे बोल्नेछन् भने गायक अमृत गुरुङले मुटुको धड्कन र संगीतको सम्बन्धबारे बोल्नेछन् । यस्तै, बुद्ध एयरका विरेन्द्र बस्नेतले सफलताको कथासँगै गुणस्तरीय सेवा दिने बारे धारणा राख्नेछन् भने प्रा.डा. अर्जुन कार्कीले वर्तमान उपचार पद्दतीको पाठ्यक्रमलाई मौलिक पाठ्यक्रम बनाउनेबारे बोल्नेछन् । यस्तै, बालरोज बिशेषज्ञ डा.निशाकेशरी भट्टले बोल्न नसक्ने बच्चा एवं भावना पोख्न नसक्ने तथा आफने पीडा पोख्न नसक्ने विरामीको भावना कसरी बुभ्mने भनेर प्रस्तुती दिनेछिन् । ‘यो वहसले चिकित्सा विज्ञानको भावी बाटो पहिल्याउने छ र चिकित्सा पेशा तथा पेशाकर्मीलाई समाजसँग जोड्नेछ ’–गौचनले भने ।
डाक्टर साप्हरुको यो कदम प्रशंसनीय छ । ढीलै भए पनि अब बुद्धि फिर्ला जस्तो छ । अहिलेका डाक्टर भन्दा त धामी, झाँक्री र परम्परागत जडिबुटीबाट उपचार गर्नेहरुले मानवीय संवेदना बढी बुझेको जस्तो पाइन्छ । नभए सुरुमा डाक्टरकहाँ नआई किन उनीहरुका पुग्छन् पहिले बिरामी र आधा रोग निको बनाएर आउँछन् ? सक्नुहुन्छ भने परम्परागत चिकित्साकमी, धामी, झाँक्रीको समूह एकत्रित गर्ने, उनीहरुलाई पनि तालिम प्रदान गर्ने, उनीहरुबाट पनि सिक्ने चेष्ट गर्नुपर्छ । आयुर्वेदा एक्स्पर्टहरु (बि.ए.एम.एस., एम.डि, एम.एस. इन आयुर्वेद) विशेषज्ञहरुलाई पनि समावेश गर्दा राम्रो । किनकि नेपालका ८० प्रतिशत जनताको रोजाइ आयुर्वेद र परम्परागत उपचार पद्दति हो । यो नेपाल मात्र होइन विश्वकै आँकडा हुन सक्छ । सबैको आ आफ्नो क्षेत्र र सीमा छन् सबैलाई मिलाए मात्र पूर्ण पद्दति बन्दछ र जनताले सही उपचार पाउन सक्दछन् । आफू मात्र चिकित्सक र चिकित्सा पेशाको ठेकेदार हुँ, आफ्नो मात्र प्याथी, पद्दति सर्वोत्कृष्ट हो भनेर छाती फुुलाउनुको कुनै तुक छैन । मेलै देखेको छु, पूर्वमा अर्थोपेडिक्स सर्जनको जानु पहिले एक जना पुरानो आयुर्र्वेदिक कहाँ जान्छन्, कारण कास्ट र स्लाब १ देखि २ महिनासम्म हाल्दा ठीक नभएको फ्र्याक्चरहरु उनको आयुर्वेदिक लेपले ५ देखि १० दिनमा बलियो, मजुबत र जोडेको देखेको छु, हजारौँ हजार हड्डी पीडितको रोजाइ पहिलो उनी हुन् उनीबाट रिफर भएपछि मात्र अर्थोसर्जन । यस्तो छ हाम्रो समाजको अवस्था ।
ReplyDelete