नयाँ बर्षमा ७/११ गोर्खा राइफल्सका भूपू सैनिकको पूर्नमिलन
धरान । अंग्रेजी नयाँ बर्षको उमंगमा सारा झुमिरहदा ७/११ गोर्खा राइफल्सका अवकाशप्राप्त भारतीय सैनिक र परिवारजनहरु पनि बुधबार धरानमा पूर्नमिलन कार्यक्रममा रमाइरहेका थिए ।
अवकाश पाएपछि भेट नभएका पल्टनमा रहेका दौतरीहरु बषौंपछि भेटिदा खुशी थिए । नयाँ बर्षको पहिलो दिन(१ जनवरी) परेकोले पनि परिवारजनहरु पूर्नमिलन कार्यक्रममा औधी रमाइरहेका थिए । भारतीय भूपू सैनिक संघ सुनसरी एवं ७/११ गोर्खा राइफल्स भूपू परिवारले बुधबार पल्टनको ४९ औं स्थापना दिवस धरानमा मनाएको थियो । स्थापना दिवसलाई भूपू सैनिकहरुले दौतरी एवं परीवारबीचको पुर्नमिलनकोरुपमा लिने गरेका छन् । अझ जनवरी १ मा नै पल्टनको स्थापना दिवस पर्ने भएकोले यो दिन भूपू सैनिकहरुको लागि उत्सव झै हुने भूपू परिवारका सचिव एवं अवकाशप्राप्त सुवेदार लालबहादुर लिम्बू बताउछन् ।
‘पल्टनको स्थापना दिवसको अवसरमा मात्रै पल्टनका दौतरीहरुसँग भेट हुन्छ, परिवारजनहरुबीच थप चिनजानी हुन्छ’–सचिव लिम्बूले भने–‘पल्टनबाट छुटिएका हाम्रा परिवारहरु पनि ज्यादै खुशी छन्, त्यसैले यो दिनलाई हामीले पूर्नमिलन कार्यक्रमकोरुपमा पनि लिएका छौं ।’ पल्टनमा बर्षौै सँगै काम गरेपनि अवकाश पाएपछि भने भेटघाट नै नभएका साथीभाईसँग भेट हुने अवसर मिलेको उनी बताउछन् । पुराना दौतरीसँगै स्थापना दिवसमा पल्टनबाट भर्खरै अवकाश पाएका र तिनका परिवारजनबीच पनि चिनजान र सम्बन्ध बढ्ने उनको भनाई छ ।

भूपू परिवारका अध्यक्ष अनेरी क्याप्टेन पदम राईको अध्यक्षतामा आयोजित कार्यक्रममा धरान १३,फुस्रेस्थित पेन्सन पेइङ अफिसका मेजर सतिस पाटिल प्रमुख अतिथि थिए । मेजर पाटिलले पनि भूपू सैनिकहरुको जीवनमा पल्टनको सम्झना मात्रै बाँकी रहने भएकोले स्थापना दिवसको ठुलो महत्व रहेको बताए । ‘हामी अवकाश भएपछि पल्टनको याद मात्रै बाँकी रहन्छ, त्यसैले यो कार्यक्रमको त झन् ठुलो महत्व हुन्छ’–मेजर पाटिलले भने । कार्यक्रममा गत बर्षयता संगठित भएका धरान र तरहरा क्षेत्रका करिब एक सय २५ भूपू सैनिकका घरपरिवारहरुको सहभागीता रहेको अध्यक्ष पदम राईले जानकारी दिए ।
Comments
Post a Comment