बीपी र वीर हस्पिटलका युवा चिकित्सकले पाए योनेजावा अवार्ड

धरान । हाडजोर्नी चिकित्सकहरुको वृहत बार्षिक सम्मेलनमा अर्थोकोन २०१४ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका युवा चिकित्सकसहित दुई जनाको सोध उत्कृष्ट हुदै अवार्ड जितेको छ ।

उत्कृष्ट शोधबाट युवा योनेजावा अवार्ड जितेका बीपी प्रतिष्ठानका अर्थोपेडिक सर्जन डा. रोशनप्रसाद शाह कलेवर ।
तीन दिने सम्मेलनको क्रममा बीपी प्रतिष्ठानका युवा अर्थोपेडिक सर्जन डा. रोशनप्रसाद शाह कलेवर र रेजिडेन्टतर्फ वीर अस्पतालका डा. शिसिर कार्कीको शोध उत्कृष्ट ठहरिएको हो । दुवैको सोध उत्कृष्ट ठहरिएपछि सम्मेलन समापनको अवसरमा आइतबार दुवैलाई योनेजावा अवार्डबाट सम्मानित गरिएको थियो । सम्मेलनमा ९० वटा शोधपत्र प्रस्तुत गरिएको थियो । यो अवार्ड जापानका वरिष्ठ चिकित्सक डा. योनेजावाले स्थापना गरेका हुन् । यो अवार्ड विगत ५ बर्षदेखि दिइदै आएको हो । यो अवार्ड दिन बर्षेनी डा. योनेजावा नेपाल आउने गर्छन् । सम्मेलन बिहिबार, शुक्रबार र शनिबार बीपी प्रतिष्ठानमा भएको थियो ।
‘यो अवार्ड युवा डाक्टरहरुको शोधलाई दिइने गरिन्छ, सम्मेलनमा जसको शोध राम्रो, उत्कृष्ट ठहरिन्छ, उसैले पाउछन्’–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख एवं सम्मेलन आयोजक कमिटिका संयोजक डा.गुरु खनालले भने । नेपाल हाडजोर्नी संघको आयोजना र बी.पी. प्रतिष्ठान, हाडजोर्नी विभागको व्यवस्थापनमा अर्थोकोन २०१४ नामक हाडजोर्नी चिकित्सकहरुको तीन दिने सम्मेलन बीपी प्रतिष्ठानमा भएको थियो । सम्मेलनमा नेपालबाट ३ सय बढी हाडजोर्नी चिकित्सकहरु सहभागी थिए । त्यसबाहेक भारतबाट २५ जना, बेलायतवाट २ जना, जापानबाट २ जना,चीनबाट १६ जना हाडजोर्नीका विशेषज्ञ चिकित्सकहरु सहभागी थिए ।
सम्मेलनमा शोधकार्य लेख्ने विधि, अर्थोस्कोपिबाट हेर्ने तरिका, कृत्रिम जोर्नी फेर्ने तरिका, विशेष शल्यक्रिया, प्रस्तुत शोध एवं अनुसन्धान लगायत विविध बिषयमा छलफल र अन्तक्रिया भएको आयोजकले जनाएको छ । हाडजोर्नीका चिकित्सक एवं विशेषज्ञबीच उपचार पद्दती, नयाँ उपलब्धी तथा अनुभवहरुबारे जानकारी,आदन प्रदानले सम्मेलन धेरै फलदायी भएको आयोजक कमिटिका सचिव डा.पशुपति चौधरीले बताए । उनका अनुसार सम्मेलनमा चिकित्सा पेशाको नैतिक मूल्य, मान्यताको बारेमा पनि बहस भएकोले विद्यार्थी, चिकित्सक तथा विरामीका लागि धेरै लाभदायी पनि भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दासले पनि चिकित्सा पेशाप्रति आमजनताको धारणा नकरात्मक बन्दै गइरहेको अवस्थामा सम्मेलनमा मानवीय मूल्य मान्यताको बारेमा छलफल गरिदा उपलब्धीमुलक भएको अपेक्षा व्यक्त गरे ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे