धराने पत्रकारलाई सिकाउन 'गल्फ क्लिनिक'


धरान । कलम, डायरी र क्यामेरा लिएर रिपोर्टिङमा हिड्ने बिबिसि नेपाली सेवाकी संवाददाता सीता मादेम्बाको हातमा गल्फ स्टिक थियो । प्रोफेस्नल गल्फर सविन सापकोटाले स्टिक समाउन सिकाउदै वललाई हिर्काउन भनेपछि उनले ताकेर हिर्काइन् तर, स्टिक हावामा मात्रै उड्यो ।
स्टिकले वललाई नछोएपछि गल्फ कोर्ष एकछिन एकछिन हाँसोमय बन्यो । तर, उनीपछिका सबै पत्रकारहरुको हालत उस्तै भयो । नेपालकै उत्कृष्ट गल्फ कोर्ष भएपनि धरानका पत्रकारहरु गल्फ खेलबारे अनभिज्ञ रहेपछि धरान गल्फ क्लबको संयोजनमा पत्रकारहरुलाई जानकारी दिलाउन ‘गल्फ क्लिनिक’ आयोजना गरिएको थियो । पत्रकारहरुलाई गल्फ खेलबारे जानकारी मात्रै दिइएन, कोर्षको केही होलमा खेल्ने अवसर पनि पाए । गल्फ खेलको बारेमा हाल जर्मनीमा प्रशिक्षक रहेका धरानका व्यावसायिक खेलाडी सविन सापकोटा र हालै सुर्य नेपाल इष्र्टन ओपनमा एमेच्योर विजेता बबिन्द्र राईले प्रशिक्षण दिएका थिए ।
पत्रकारहरुलाई गल्फ खेलप्रति अभिरुची जगाउन र रिपोर्टिङ गर्न मद्दत पुर्याउने उद्देश्यले गल्फ क्लिनिक आयोजना गरिएको प्रशिक्षक सापकोटाले बताए । ‘धरानमा गल्फ कोर्ष छ, यहाँ थुप्रै प्रतियोगिताहरु हुन्छ । तर, धरानकै पत्रकारहरुले गल्फ खेल नबुझ्दा पत्रपत्रिकामा प्राथमिकतामा पदैन’–सापकोटाले भने–‘त्यसैले पत्रकारहरुलाई गल्फ खेलसँग नजिक बनाउन क्लिनिक राखिएको हो ।’ उनले पत्रकारहरुलाई गल्फ स्टिक, गल्फ कोर्षको पार, गल्फ खेलका प्रकार, खेल्ने तरिकाबारे सैद्धान्तिक र व्यहावहारिकरुपमा जानकारी दिएका थिए ।
गल्फ क्लिनिकले गल्फ खेलबारे धेरै जानकारी पाएको भन्दै पत्रकारहरुले रिपोटिङमा पनि फाइदा पुग्ने बताएका छन् । ‘पहिलो पटक गल्फ स्टिक समाउन पाए, खेलेको हेर्दा जति सजिलो हुन्छ जस्तो थियो, तर निक्कै गाह्रो हुदो रहेछ’–फोटो पत्रकार सोहन श्रेष्ठले भने–‘गल्फ खेल बुझेपछि पत्रकारहरुलाई समाचार लेख्न पनि सजिलो हुन्छ ।’ नेपालकै उत्कृष्ट कोर्ष मानिने निर्वाणा कन्ट्री क्लबस्थित कोर्षमा प्रत्येक बर्ष राष्टिय एवं स्थानीय गल्फ प्रतियोगिताहरु हुन्छन् । तर, त्यसबेला गल्फ खेलको रिपोर्टिंगमा नगन्य पत्रकारहरु मात्रै पुग्ने गर्छन् ।
प्रत्येक बर्ष डिसेम्बरमा हुने सुर्य नेपाल इष्र्टन ओपन गल्फ प्रतियोगितामा रिपोर्टिंग गर्न आयोजकले राजधानीबाटै दक्ष खेल पत्रकारहरु ल्याउनु पथ्र्यो । यसबाहेक धरानमा स्थानीयस्तरमा विभिन्न प्रतियोगिताहरु आयोजना हुन्छन् । ‘अब यहाँ हुने प्रतियोगिताहरुमा पत्रकारहरुको उपस्थिति हुन्छ र पत्रिकामा स्थान पाउछ भन्ने आशा छ’–धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बूले भने ।





 














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे