पानी नआएपछि खानेपानी संस्थानमा घेराऊ


धरान । पाँच दिनदेखि धारामा खानेपानी नआएपछि आइतबार बिहानै धरान १४ विजयपुर गढीका स्थानीय बासिन्दाहरुले खानेपानी संस्थानको शाखा कार्यालयमा घेराउ गर्न पुगे ।पानी नआएको झोकमा संस्थानमा पुगेका विजयपुरबासीलाई कर्मचारीहरुले पानी नआउनुको अनेक कारण बताए, तर उनीहरु मान्न तयार भएनन् ।
स्थानीयले सवा एघार बजेतिर कार्यालय आएका निमित्त प्रमुखसहित वितरण प्रमुख र प्राविधिकहरुलाई संस्थानकै गाडीमा राखेर स्थलगत निरीक्षणमा लगे । त्यति गर्दा पनि समस्या सुल्झिएन । ‘प्राविधिक कर्मचारीहरुलाई लिएरै गयौं, तर पनि केही भएन’–स्थानीयबासी सागर खड्काले भने–‘हामी सक्दो कोसिस गछौं भनेर फर्किएका छन् ।’
विजयपुरबासीका अनुसार पाँच दिन यता धारामा पानी एक थोपा पनि आएको छैन । पटक पटक आग्रह गरेपनि संस्थानका कार्मचारीहरुले ‘पाइप फटेर पानी कमी भएको’ भन्ने बाहेक प्रष्ट जवाफ नदिएपछि शुक्रबार संस्थानमै घेराउ गर्न पुगेका हुन् । ‘खासमा किन पानी नआएको भनेर भन्नै सक्दैनन्, फोन गर्दा पाइप फुट्यो मात्रै भन्थे’–स्थानीय सुरेन्द्र घिमिरेले भने । यो समस्या विजयपुरबासीको मात्रै होइन, समग्र धरानबासीहरुको नियमित भोगाई हो । सुख्खा याम शुरु भएपछि धरानबासीहरुले खानेपानी संस्थानले वितरण गरेको धारामा पानी होइन, हावा मात्रै आउने गुनासो गर्छन् । विजयपुरबासी भने बर्षायाम असार, साउनको बेला पनि आफुहरुले दैनिक एक समय मात्रै पानी पाउने गुनासो छ ।


आखिर किन संस्थानले आफ्ना उपभोक्ताहरुलाई पर्याप्त पानी वितरण गर्न सकेको छैन त ? जवाफमा विजयपुरका खड्का भन्छन्–‘पानी जहीत्यही लिकेज हुन्छ, संस्थानले समयमै बनाउदैन, कर्मचारीहरुले चाहेको ठाउँतिर बिहान बेलुकै पानी पुग्छ, कतै पुग्दै पुग्दैन ।’ घर निर्माण सम्पन्न भएपछि घरमा धारा जडान गर्नुपर्ने भएपनि संस्थानका कर्मचारीहरुले मिलेमतोमा जथाभावी धारा बाडिदिदा पनि उपभोक्ताहरुले पर्याप्त पानी पाउन नसकेको नगरबासीको भनाई छ । ‘पानीको स्रोत बढ्दैन, तर घर बनिसकेकै हुदैन, कर्मचारीहरुले मिलेर धारा जडान गरिदिन्छन्, अनि कसरी पानी पुग्छ त ?’–खड्काले भने ।
संस्थानका एक कर्मचारीको भनाईमा पनि पानी लिकेजलाई समयमै रोक्ने हो भने धेरै हदसम्म पानी अभावको समस्या हल हुनसक्छ । करिब तीन बर्षअघि एक छलफलमा संस्थानका तत्कालीन प्रमुखले २५ प्रतिशत पानी खेर जाने गरेको स्वीकार गरेका थिए । डेढ लाख बढी जनसंख्या रहेको धरानमा करिब २४ हजार घरधुरी रहेको तथ्यांक छ । ती मध्ये १६ हजार घरधुरीले मात्रै संस्थानबाट धारा जडान गरेका छन् । त्यसबाहेक धरानमा ३ सय ४ वटा सार्वजनिक धारा छ ।
संस्थानका प्रमुख दिपक श्रेष्ठ भने कर्मचारीले वदमासी गरेर घर निर्माण पुरा नभई नै धारा जडान हुने गरेको स्वीकार गरेपनि अहिले नियन्त्रण भइसकेको दाबी गर्छन् । यस्तै, लिकेज हुने पाइपलाई पनि मर्मतको काम तीब्रता दिएको उनको भनाई छ । ‘घर नक्सा पास नभई नै धारा दिने गरेको रहेछ, म यहाँ आइकन रोकिदिएको छु, कर्मचारीलाई कारबाही पनि गरेको छुँ’–प्रमुख श्रेष्ठले भने–‘पानी यति नै लिकेज भएर जान्छ त भन्न सकिदैन, तर लिक हुने ठाउँमा बनाउने र नयाँ ठाउँमा इन्टर कनेक्सन गरेर एकरुपता ल्याउने काम धमाधम भइरहेको छ, धेरै लिकेज छैन ।’ संस्थानको १० प्रतिशत पाइप पोलिथिन भएको कारणले त्यसमा भने समस्या रहेको उनले बताए ।

संस्थानका वितरण प्रमुख केपी शर्माका अनुसार एकाध ठाउँमा पानी लिक भएर जाने गरेपनि अधिकांश ठाउँमा नियन्त्रण भइरहेको बताए । तथापी उनले पाइप खिया लाग्ने, गाडीको भाइब्रेशनको कारण फेरल भाचिने कारणले पानी लिकेज हुने स्वीकारे । ‘उपभोक्ताको घरको पाइप र संस्थानको पाइप जडानको ठाउँमा धेरैजसो भाचिएर लिकेज हुन्छ’–उनले भने–‘धरानको भुगोलको कारणले पनि डाइरेक्ट पानी जान सक्दैन, शाखा लाइन बढी तानिएकोले पानीको प्रेसर नपुगेर पनि समस्या हुन्छ ।’
धरानमा दैनिक सवा २ करोड लिटरको पानीको माग छ । संस्थानका अनुसार सुख्खायाममा सरदर एक करोड लिटर मात्रै पानी उपलब्ध हुन्छ । जंगलमा रहेको पाँच वटा वेल चल्दा ६० देखि ७० लाख लिटर पानी दैनिकरुपमा आपूर्ति हुन्छ भने सर्दु, खर्दु र तामाखाम खोलाबाट दैनिक ४० लाख लिटर मात्रै पानी आपूर्ति हुन्छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे