१० औं राष्ट्रिय उसु प्रतियोगिता शुरु


धरान । प्रथम लुम्बिनि राष्टिय च्याम्पियनसिप अन्र्तगतको १० आंै राष्ट्रिय उसु प्रतियोगिता धरानमा शुरु भएको छ । प्रतियोगिता शनिबारदेखि नै शुरुवात भएपनि औपचारिक उद्घाटन भने आइतबार मात्रै भएको हो । पब्लिक उच्चमाविको खेल मैदानमा भलिवलका पूर्वअन्र्तराष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरीका एआइजी दोर्जकुमार राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको स्पर्धा भने सोमबारदेखि मात्रै शुरु भएको छ । उद्घाटन समारोहमा विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरुले प्रर्दशनी खेल भने प्रस्तुत गरेका थिए । धरानमा १६ बर्षपछि उसुको राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो । यसअघि ०५४ सालमा उसुको चौथो राष्ट्रिय प्रतियोगिता धरानमा भएको थियो ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल उसु संघको मुख्य व्यवस्थापन तथा जिल्ला उसु संघको स्थानीय व्यवस्थापनमा शुरु भएको हो । राखेपले आयेजना गरेको च्याम्पियनसिप अन्र्तगत विभिन्न जिल्लामा ३३ वटा खेलहरुको प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा पाँच विकास क्षेत्रका ४५ वटा जिल्लाका साथै दुई विभागीय टिम सशस्त्र प्रहरी र सेनाबाटसमेत गरेर करिब साढे ३ सय बढी खेलाडी एवं प्रशिक्षकहरु सहभागी भएको जिल्ला उसु संघले जनाएको छ ।


प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र प्रहरीका एआइजी राईले राष्ट्रको लागि खेल्न खेलाडीहरुलाई सुझाव दिएका थिए । खेलले अनुशासन एवं मर्यादामा रहन सिकाउने भन्दै उनले खेलसँगै अध्ययनलाई पनि नछोड्न आग्रह गरे । ‘खेलकुदसँगै पढाईलाई अघि बढाउनुस्, खेलेर करिअर बढाउन सकिन्छ, खान सकिन्छ, भविष्य उज्यालो छ’–राईले भने–‘राम्रो खेल्नुस्, राष्ट्रको लागि खेल्नुस् ।’ नेपाल उसु संघका केन्द्रीय अध्यक्ष दिपक सरकारले धरानमा राष्ट्रिय प्रतियोगिता आयोजना हुदा पूर्वाञ्चलमा खेलकुदको विकास हुने र केन्द्रसँग जोड्ने आशा व्यक्त गरे । उद्घाटन समरोहलाई राखेपकी सदस्य कुसुम श्रेष्ठ, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, जिल्ला उसु संघका अध्यक्ष रमेश राई, एमाले नगर अध्यक्ष तारा सुब्बा, एमाओवादी नगर अध्यक्ष चोत्लुङलगायतले सम्बोधन गरेका थिए ।


प्रतियोगितामा थाउलु(काता)मा पुरुषतर्फ  छाङ छ्वान ऐच्छिक, ताव सु÷ कुन्सु अलराउण्ड ऐच्छिक, नान छ्वान÷नान कुन सु अलराउण्ड ऐच्छिक, आयची छ्वान÷थायची चेन सु अलराउण्ड र तुइलियान विधामा स्पर्धा हुनेछ । यस्तै, महिलातर्फ भने छाङ छ्वान ऐच्छिक, चीयन सु÷छियाङ्ग सु अलराउण्ड ऐच्छिक, नान छ्वान÷ नान ताव सु अलराउण्ड ऐच्छिक, थायची छ्वान÷थायची चेन सु अलराउण्ड र तुईलियान विधामा स्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरी, सान्सौ(फाइट)तर्फको विधामा भने पुरुषतर्फ ४८ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८५ केजी तौल समुहमा स्पर्धा हुनेछ भने महिलातर्फ ४८ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा स्पर्धा हुनेछन् ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे