बीपी प्रतिष्ठान परिसरमा निःशुल्क उपचार सेवा


धरान । चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा भएको राजनीतिक तथा प्रशासनिक हस्तक्षेपविरुद्ध आमरन अनसनरत प्रा.डा.गोविन्द केसीको समर्थनमा आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले बुधबार प्रतिष्ठान परिसरमा निःशुल्क स्वास्थ्य सेवा दिएका छन् ।
प्रतिष्ठानको जिओपिडी भवन अघिको खुला परिसरमा नै आन्दोलित चिकित्सकहरुले विरामीको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए । जाँचको क्रममा एक सय ८५ जनाले निःशुल्क जाँच गराएको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष विकास गौचनले बताए । उनका अनुसार आकस्मिक कक्षमा उपचार सेवा जारी रहेपनि सामान्य स्वास्थ्य समस्या लिएर आएकाहरुलाई त्यसै फर्कन नपरोस भनेर सेवा दिइएको हो । निःशुल्क स्वास्थ्य जाँचको क्रममा प्रतिष्ठानमा पाउने सबै सेवा दिइएको उनले बताए ।

यहाँका चिकित्सकहरुले मंगलबार आन्दोलनलाई नयाँ रुप दिदै धरान १३, फुस्रेस्थित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको सम्पर्क कार्यालयअघि धर्ना र स्वास्थ्य सेवा एकैसाथ सञ्चालन गरेका थिए । मंगलबार शुलभ निःशुल्क सडक स्वास्थ्य सेवाबाट ८० भन्दा बढी सर्वसाधारण एवं विरामीहरुले उपचार सेवा पाएका थिए ।




                        संघका धरान शाखा अध्यक्षलाई निलम्बन 


आमरण अनसनरत प्रा.डा.गोविन्द केसीको सर्मथनमा शुरु भएको आन्दोलनमा असहयोग गरेको भन्दै नेपाल चिकित्सक संघ धरान शाखाका अध्यक्ष प्रा.डा.जि.पि.रौनियरको आजिवन सदस्यता निलम्बन भएको छ । संघको केन्द्रीय महासचिव डा.मुक्तिराम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै आन्दोलनमा असहयोग गरेको कारण धरान शाखाका अध्यक्ष डा.रौनियरलाई तीन महिनाको लागि आजिवन सदस्यता निलम्बन गरिएको जनाएका छन् । निलम्बित डा. रौनियर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । प्रतिष्ठानका युवा चिकित्सकहरुले प्रा.डा.गोविन्द केसी ऐक्यवद्धता समिति गठन गरेर आन्दोलन शुरु गरेपनि संघका अध्यक्ष रौनियरले सहयोग गरेका थिएनन् । आन्दोलन चर्कदै गएपछि उनले मंगलबार बिहान संघका अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

                           बीपीका डाक्टरहरुले पनि राजिनामा बुझाउने


डा.गोविन्द केसीको समर्थनमा आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पनि बुधबार राजिनामा गर्ने भएका छन् । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुलाई सामुहिक राजिनामा दिन आह्वान गरेपछि बुधबार यहाँका चिकित्सकहरुले पनि राजिनामा दिने तयारी गरेका हुन् ।
सामुहिक राजिनामा दिनको लागि हस्ताक्षर संकलन गरिन लागेको जुनियर रेजिडेन्टर वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विकास गौचनले जानकारी दिए । प्रतिष्ठानका चिकित्सकहरु एक साता अघिदेखि नै डा.केसीको समर्थन र जीवन रक्षाको माग गर्दै रिले अनसन शुरु गरेका थिए । ‘नेपाल चिकित्सक संघको आह्वानअनुसार नै हामीले सामुहिक राजिनामा लिने तयारीमा छौं’–डा.गौचनले भने ।
केन्द्रले विज्ञप्ती मार्फत सामुहिक राजिनामा दिन आह्वान गरेपनि नेपाल चिकित्सक संघको धरान शाखाले भने त्यसबारेमा बिहिबार मात्रै निर्णय गर्ने भएको छ । बिहान ८ बजे चिकित्सकहरुको वृहत भेला गरेर अघि बढ्ने संघको वैठकले निर्णय गरेको छ । संघले यस्तो निर्णय गरेपनि डा.केसीको समर्थनमा आन्दोलित चिकित्सकहरुले भने बुधबार साँझदेखि नै राजिनामा पत्रमा हस्ताक्षर शुरु गरेका हुन् । ‘संघले कसरी अघि बढ्ने भनेर बिहिबार बिहान ८ बजे वृहत भेला गर्ने भएको छ, तर हामीले आजैदेखि राजिनामा पत्रमा हस्ताक्षर संकलन गर्न थालिसकेका छौं’–प्रा.डा.गोविन्द केसी ऐक्यवद्धता समितिका संयोजक डा. मधुर बस्नेतले भने ।
          तस्बिर स्रोत: डा.मधुर बस्नेतको फेसबुक



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे