पूर्वमा ग श्रेणीको मात्रै एम्बुलेन्स
धरान । पूर्वमा डेढ सय हाराहारी एम्बुलेन्स सर्चालनमा भए पनि जोखिम अवस्थाका बिरामी बोक्ने एम्बुलेन्स एउटै छैन । सिकिस्त एवं जोखिम अवस्थाका बिरामीका लागि ‘क’ वा ‘ख’ श्रेणीको एम्बुलेन्स आवश्यक पर्छ तर, ती एम्बुलेन्स नभएकाले जटिल अवस्थाका बिरामीलाई पनि सामान्य बिरामी बोक्ने ‘ग’ श्रेणीको एम्बुलेन्समा अस्पताल लैजानुपर्ने बाध्यता छ ।
एम्बुलेन्स सेवा सञ्चालन नीतिले अस्पतालको आवश्यकता र बिरामीको किसिमअनुसार एम्बुलेन्सलाई क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ । ‘क’ वर्गको एम्बुलेन्समा एकजना तालिमप्राप्त प्यारामेडिक, एक डाक्टरसहित इसिजी, कार्डिक मनिटर, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन, रेडियो कम्युनिकेसन सिस्टम, पल्स अक्स मिटरलगायत सुविधा जडान गरिएको हुुनपर्छ । यस्तै, ‘ख’ श्रेणीको एम्बुलेन्समा पनि एक जना प्यारामेडिकसहित प्राथमिक उपचारको सामान, आइभि इन्जेक्सन दिने सामान, र्पाइन सपोर्ट एयर वे, फ्रयाक्चर स्प्लिन्ट, अक्सिजन मास्क, फ्लोमिटरलगायत सेवा हुनुपर्ने प्रावधान छ । ’ग श्रेणी’का एम्बुलेन्सका चालकलाई नियमितरुपमा प्राथमिक उपचार तालिम दिइएको हुँदैन । एम्बुलेन्समा पनि फर्सट एड बक्स र अक्सिजन सिलिन्डरमात्रै हुन्छ ।
बिरामी वा घाइतेलाई अस्पतालसम्म सुरक्षित पुरयाँउन तालिमप्राप्त दक्ष चालक हुनुपर्ने प्रावधान एम्बुलेन्स सेवा सञ्चालन नीतिमा छ । तर, नयाँ चालकले प्राथमिक उपचार तालिम पाएकै छैनन् । पुराना चालकले पनि तालिम नपाएको डेढ वर्ष हुन लागिसकेको छ । स्वयं एम्बुलेन्स चालक ६÷६ महिनामा प्राथमिक उपचार तालिम लिन पाउने व्यवस्था हुनुपर्ने धारणा राख्छन् । ‘क र ख श्रेणीको एम्बुलेन्सको खर्चधान्नै गाह्रो छ,’ एम्बुलेन्स चालक संघका संयोजक गोविन्द विसंखेले भने, ’एक वर्षअघि बिपी प्रतिष्ठान र रेडक्रसले चालकलाई तालिम दिएको थियो, यो नियमित भइरहनुपर्छ ।’
‘ग श्रेणी’का एम्बुलेन्स सामान्य वर्गका विरामी ओसार–पसार गर्न प्रयोजनका लागि मात्रै हो । नियमनकारी निकायले चासो नदिँदा ‘ग’ श्रेणीका एम्बुलेन्समा पनि हुनुपर्ने सबै सेवा उपलब्ध छैन । ‘पूर्वमा ग श्रेणीको एम्बुलेन्स मात्रै छ, त्यसमा पनि जे–जति सेवा–सुविधा हुनुपर्ने हो, ती उपलब्ध छैनन्’ नेपाल रेडक्रस सोसाइटीका शाखा अधिकृत किरण कार्कीले भने, ’कुनै ठूलो दुर्घटना भयो भने स्पटबाटै उपचार गर्नसकिँदैन, ड्राइभरले मात्रै एम्बुलेन्स धानिरहेका छन् ।’
क र ख श्रेणीका एमबुलेन्स सेवा नहुदा विरामी वा घाइते व्यक्तिलाई घटना तथा दुर्घटनास्थलमा नै उपचार सेवा पाउदैनन् र अस्पताल पुर्याउदासम्म उनको झन् अवस्था बिग्रन्छ, अथवा ज्यानै पनि जानसक्छ । ‘कुनै ठुलो दुर्घटना भयो भने त्यतिबेला स्पटमा नै उपचार पाओस र अस्पतालसम्म पुग्दा बिरामीको अवस्था झन् खराब नहोस् भनेर मेडिकल टिमसहित अन्य सुविधा हुनुपर्ने भनेर व्यवस्था गरिएको हो’–रेडक्रसका पूर्वसभापति बासुदेव गौतमले भने–‘तर, यता क र ख श्रेणीका एम्बुलेन्स छैन, यसलाई सञ्चालन गर्नै पनि सकिदैन ।’ मोरङको दुलारीस्थित मेरी स्टोप्सले भेन्टिलेटर सुविधासहितको ख श्रेणीको एमबुलेन्स ल्याएपनि थन्किएको एमबुलेन्स चालकहरु बताउछन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षाका इञ्चार्ज डा. ज्ञानेन्द्र मल्ल एम्बुलेन्स चालकलाई पनि मेडिकल टिमकै सदस्यकोरुपमा मान्नुपर्ने धारणा राख्छन् । घाइते एवं बिरामी अस्पतालमा आइपुग्नुअघि एम्बुलेन्स चालकको सम्पर्कमा आउने हुँदा उनीहरुलाई दक्ष बनाउन सकियो भने बिरामीको अवस्था बिग्रन नपाउने उनले बताए । ’उहाँहरु ड्राइभरमात्रै होइन, मेडिकल टिमकै सदस्य हो, त्यसैले दक्ष बनाउने र एम्बुलेन्समा सबै प्रकारको सुविधा हुने व्यवस्था गर्नुपर्छ’ उनले भने ।
(०७० माघ १७ गतेको नागरिक दैनिकमा प्रकाशित)
Comments
Post a Comment