मृगौला झिकिएको आरोपको खण्डन, चिकित्सकको मनोवल नगिराउन सञ्चारकर्मीसँग आग्रह


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले एक साताअघि पेटको शल्यक्रिया गर्दा मृगौला झिकिएको भन्ने आरोपको खण्डन गर्दै चिकित्सकहरुको मनोवल गिराउने काम नगर्न सञ्चारकर्मी एवं पत्रकारहरुलाई आग्रह गरेको छ ।
विभिन्न सञ्चारमाध्यममा ‘पाठेघरको शल्यक्रिया गर्दा मृगौला झिकिएको’ भन्ने समाचार प्रकाशन भएपछि प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले विरामी दिलकुमारी अधिकारीको पेटको शल्यक्रिया गर्दा पिप भरिएको सामुको थैला पेटको देब्रेपटी पिसाबथैलीसँग त्यान्द्राले टाँसिएको भेटिएको र उक्त थैली ननिकाल्दा विरामीको ज्यान नै जोखिममा पर्ने शल्यचिकित्सकको ठम्याईको आधार उक्त थैली निकालिएको बताए । सो थैली पेटमा हुनसक्ने विभिन्न प्रकारको ट्युमर अथवा संक्रमणले गर्दा पुर्णरुपमा बिग्रिएको देब्रे मृगौला र पिसाब नली हुनसक्ने भएकोले प्याथोलोजी विभागमा पठाएर थप जाँच गरिसकेको पनि निर्देशक डा.सिन्हाले बताए । ‘विरामीको अवस्था ज्यादै गम्भीर थियो, त्यसैले चिकित्सकहरुको पहिलो कर्तव्य उनको ज्यान जोगाउनु हो’–सिन्हाले भने–‘चिकित्सकहरुले ५ घण्टा लामो शल्यक्रिया गरेर विरामीको ज्यान जोगाउनुभएको छ, उहाँहरु बधाईको पात्र हुनुपर्ने हो, तर मृगौला झिकिएको भन्ने समाचारले मनोवल गिराउने काम मात्रै भयो ।’

प्रतिष्ठानका प्रवक्ता डा.पारश पोख्रेलका अनुसार प्याथोलोजीमा परीक्षण गर्दा पनि उक्त थैलीको वनावट मुत्रनलीसँग मिल्ने भएकोले मुत्रनली सुन्निएको र घाऊ भएको भन्ने रिपोर्ट आइसकेको छ । ‘शल्यक्रिया गर्दा जे झिकिएको हो, त्यो के हो भनेर जाँच गर्न पठायौं, र रिपोर्टमा वनाटव मुत्रनलीसँग मिल्ने भएकोले यो मुत्रनली सुन्निएको र घाउ भएको भन्ने आएको छ’–प्रवक्ता डा.पोख्रेलले भने । विरामी अधिकारीको देब्रे मृगौला छ छैन भन्ने कुराको निक्यौल पुनः सिटिस्क्यान गरेपछि मात्रै हुने पनि प्रतिष्ठानले जनाएको छ । स्त्री तथा प्रसुती विभागकी प्रमुख डा.शैलजा क्षेत्री(श्रेष्ठ)ले अस्पताल प्रशासनसँगै पत्रकारहरुले पनि चिकित्सकहरुलाई काम गर्ने वातावरण तयार गरीदिन आग्रह गरिन् । ‘प्रशासनसँग त सधै हाम्रो यही कुरा हुन्छ, तर विनम्रतापुर्वक पत्रकारहरुलाई पनि आग्रह गछौं, हामीलाई काम गर्ने वातावरण बनाउन सहयोग गरिदिनुस्’–उनले भनिन् ।
यद्यपी, प्रतिष्ठानका पदाधिकारीले विरामी र तिनका आफन्तजनसँग शल्यक्रियापश्चात चिकित्सकहरुले बुझाउन नसक्दा घटना गलतरुपमा प्रचार भएको भने स्वीकार गरेको छ । ‘कम्युनिकेशन ग्याप छ, यो स्वीकार गछौं’–प्रवक्ता पोख्रेलले भने–‘यसलाई सुधार गछौं ।’ प्रतिष्ठानका अनुसार पाँचकन्या ५ सुनसरीकी १७ बर्षीय दिलकुमारी अधिकारी शल्यक्रियापश्चात एमआइसियु वार्डमा भर्ना गरेर २ दुई उपचार गरिएको र त्यसपछि सर्जरी वार्डमा सारिएको थियो । विरामीको अवस्थामा सुधार भएपछि एकसातापछि फलोअपमा आउन सुझावसहित पुस ३० गते डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।


विरामी अधिकारी अत्यधिक पेट दुखाई, ज्वारो र पिसाब पोल्ने समस्या भएर पुस २२ गते राती ९ः ३० बजे सुनसरीको पाँचकन्या ५, देउरालीकी १७ बर्षीय दिलकुमारी अधिकारी प्रतिष्ठानको स्त्री तथा प्रसुती रोग विभागको आकस्मिक कक्षमा आएकी थिइन् । विभागका चिकित्सकहरुले परीक्षण गर्दा विरामीको मुटुको धड्कन ज्यादै बढेको, ज्वारो १०१ भएको र पेटको जाँच गर्दा तल्लो पेटमा एउटा गाँठो भएकोले अत्यधिक दुःखेको अवस्थामा पाइएको प्रतिष्ठानले जनाएको छ । चिकित्सकको सुझाव अनुसार अन्य थप परीक्षण गर्ने क्रममा अल्ट्रासाउण्ड परीक्षण गर्दा पेटको देब्रेभागमा देब्रे डिम्बासयतर्फ पानी भरिएर सुन्निएको पाइनुका साथै देब्रेतिरको मृगौला पनि सुन्निएर पानीको फोका जस्तो मात्रै देखिएको प्रतिष्ठानले जनाएको छ ।
विभिन्न परीक्षणहरुबाट प्राप्त रिपोर्ट तथा विरामीको अवस्थाको गम्भीरर्यतालाई विचार गरी स्त्री तथा प्रसुती रोग विभागका शल्यचिकित्सकले पेट खोलिसकेपछि दुई तर्फको डिम्बासय, पाठेघर, डिम्बाशय, पाठेघर, डिम्बवाहिनी नली दुरुस्त अवस्थामा पाइएको तर पेटको देब्रेतर्फ एउटा मासुको गोला भएको देखिएकोले थप उपचारको लागि जेनरल सर्जरी विभागका बिशेषज्ञहरुलाई बोलाएर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । ‘शल्यचिकित्सकहरुले मासुको गोला शल्यक्रिया गर्ने क्रममा पीप भरिएको मासुको थैला पेटेको देब्रेपटी पिसाबथैलीसँग त्यान्द्राले टाँसिएको भेटिएको थियो’–प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘पीपले भरिएको उक्त थैला विरामीको शरीरबाट ननिकाल्दा विरामीको ज्यानै जोखिममा पर्ने शल्यचिकित्सकको ठम्याइका आधारमा शल्यक्रियाको माध्यमबाट उक्त थैला निकाली थप जाँचको लागि प्याथोलोजी विभागमा पठाइएको थियो ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे