अर्थोपेडिक चिकित्सकहरुको सम्मेलन बीपीमा शुरु


धरान । अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुबीच उपचार पद्दती एवं नयाँ उपलब्धीहरुबारे जानकारी तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले बिहिबारदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नीका चिकित्सकहरुको तीन दिने सम्मेलन शुरु भएको छ ।
अर्थोकोन २०१४ नाम दिइएको सम्मेलन नेपाल अर्थोपेडिक एशोसिएशनले आयोजना गरेको हो । इथिक्स इन अर्थोपेडिक भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा नेपालबाहेक विश्वमा ख्याती कमाएका भारत, बेलायत, जापान र चीनबाट पनि हाडजोर्नीका वरिष्ठ एवं बिशेषज्ञ चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा अर्थोपेडिक सर्जनहरुको काम, उपलब्धी एवं ज्ञान एकापसमा आदान प्रदान हुने भएकोले विद्यार्थी र नेपालका चिकित्सकहरुलाई धेरै लाभदायी हुने आयोजक कमिटिका सचिव एवं बीपी प्रतिष्ठानका अर्थोपेडिक सर्जन डा.पशुपति चौधरीले बताए । उनका अनुसार सम्मेलनमा चिकित्सा पेशाको नैतिक मुल्य,मान्यताको बारेमा पनि बहस हुनेछ । ‘अर्थोपेडिक सर्जनहरुबीच आफुले गरेको काम, अनुसन्धान र नयाँ उपलब्धीहरुको आदानप्रदान त हुन्छ नै, त्यो भन्दा महत्वपुर्ण कुरा चिकित्सा पेशाको नैतिक मुल्य,मान्यताबारेमा पनि बहस हुनेछ’–डा.चौधरीले भने–‘चिकित्सा पेशामा मानवीय मुल्यमान्यता घट्दो छ, यो पेशा व्यावसायीकरण भयो, पैसामुखी भयो भन्ने जनगुनसो बढीरहेकोले त्यसबारेमा पनि बिशेषज्ञहरुबाट प्रस्तुती हुनेछ र गुणस्तरीय सेवा दिलाउन प्रेरित गर्नेछ ।’


सम्मेलनमा नेपालका डेढ सय बढी अर्थोसर्जनहरु सहभागी हुनेछन् भने भारतबाट करिब ५ दर्जन, बेलायतबाट २ जना, जापानबाट २ जना र चीनबाट १६ जना हाडजोर्नीका बिशेषज्ञ चिकित्सकहरु अतिथिकोरुपमा सहभागी हुनेछन् । सम्मेलनको औपचारिक उद्घाटन शुक्रबार मात्रै हुने भएपनि पहिलो दिन बिहिबार चार वटा वर्कसप सम्पन्न भएको आयोजक कमिटिले जनाएको छ । ‘पहिलो दिन शोधकार्य लेख्ने विधि, अर्थोस्कोपीबाट हेर्ने तरिका, कृत्रिम जोर्नी फेर्ने तरिका, हड्डीको बिशेष शल्यक्रियालगायतको वर्कसस भएको छ’–आयोजक कमिटिका डा.राजिव मर्हजनले भने–‘शुक्रबार र शनिबार बिशेषज्ञ, अर्थो सर्जन र विद्यार्थीहरुको शोध एवं अनुसन्धान कार्यको प्रस्तुती हुनेछ ।’ बिशेषज्ञ डाक्टरहरुले शल्यक्रिया गरेको प्रत्यक्ष देखाउने भएकोले विद्यार्थीहरुले धेरै सिक्न पाउनेछन् । उत्कृष्ट शोधपत्र प्रस्तुत गर्ने २ जना विद्यार्थीलाई योनेजावा अवार्ड पनि प्रदान गरिने उनले जानकारी दिए ।


सम्मेलनमा नेपाल र विदेश दुवैतिरका बिशेषज्ञ एवं चिकित्सकहरुबीच सिक्ने र सिकाउने प्रक्रिया हुने भएकोले धेरै उपलब्धीमुलक हुने आयोजकको अपेक्षा छ । पर्याप्त पूर्वाधार एवं सुविधा नभएको नेपाल जस्तो मुलुकका चिकित्सकहरुले अभावको बीचमा पनि कसरी काम गरिरहेका छन् र उनीहरुको समस्या कसरी हल गर्ने भन्नेबारेमा सम्मेलन फलदायी हुने बताइएको छ । ‘सुबै ठाउँमा सुविधा छैनन्, त्यस्तो अवस्थामा के समस्या छ, कसरी काम भइरहेको छ भनेर हेर्न र ज्ञान, सीप र अनुभव थाह पाइन्छ’–डा.महर्जनले भने–‘विद्यार्थीहरुले त यो सम्मेलनबाट झन् धेरै ज्ञान हासिल गर्नेछन् ।’ सम्मेलनस्थलमा हाडजोर्नीका औषधी र विभिन्न उपचारका सामग्रीहरु उत्पादन गर्ने कम्पनीहरुले आफ्नो उत्पादनको प्रर्दशनी पनि राखेका छन् ।










 











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे