डिपो कपमा सैनिक, डिपो(पहेलो) र प्रहरी स्कुल विजयी


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कपअन्र्तगत मंगलबार भएको खेलमा सैनिक आवासिय मावि, डिपो उमावि(पहेलो) र पूर्वक्षेत्रीय प्रहरी स्कुल विजयी भएको छ ।
डिपो उच्चमाविको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा सैनिकले दिल्ली पब्लिक स्कुललाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट निर्णायक गोल नभएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको हो । टाइब्रेकरमा सैनिककोतर्फबाट सुवोध खड्का, सर्वोच्च राई, सुसल कटवाल, अविनाश कार्की र विवेक कार्कीले गोल गरेका थिए ।
दिल्ली पब्लिकका लागि भने टाइब्रेकरमा अमृत राई, अभिनव लिम्बू र नितिश शर्माले मात्रै गोल गर्न सके । चिराग राईको प्रहार गोल हुन असफल भएको थियो । त्यसअघि, निर्धारित समयको खेलमा सैनिकका इश्वर श्रेष्ठ र दिल्ली पब्लिकका नितिश शर्माले बराबरी गोल गरेका थिए । सो खेलको म्यानअफ दि म्याच दिल्ली पब्लिकका शुभम राजवंशी घोषित भए ।


यस्तै, दोस्रो खेलमा आयोजक डिपो(पहेलो) ले पनि युनाइटेड एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हरायो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोल नभएपछि खेल सिधै टाइब्रेकरबाट निर्णय भएको हो । टाइब्रेकरमा डिपोको लागि अभिषेक राई, सविन राई र सिद्धार्थ लामाले गोल गरे भने रोशन महतो, कल्याण गुरुङ र युद्ध लामाको प्रहार खेर गएको थियो । युनाइटेड एकेडेमीका असिम राई र रिजन राईले मात्रै टाइब्रेकरमा गोल गर्न सके । एलन लिम्बू, अजित मगर र चुडामणी श्रेष्ठले टाइब्रेकरमा गोल गर्न सकेनन् । सो खेलको म्यान अफ दि म्याच युनाइटेड एकेडेमीका गोलकिपर विजय राई घोषित भएका थिए ।
यसैगरी, मंगलबार नै सम्पन्न तेस्रो खेलमा पूर्वक्षेत्रीय प्रहरीले लिबर्टी रेसिडेन्सियल स्कुललाई १–० गोलअन्तरले पराजित गर्यो । पहिलो हाफको १५ औं मिनेटमा प्रहरीका अनिष दाहालले गरेको एकमात्र गोल खेलको निर्णायक भएको थियो । सो खेलको म्यान अफ दि म्याच लिबर्टीका गोलकिपर अनिष तामाङ घोषित भए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे