गायक अमृत गुरुङले भने: देश र मानिसको ढुकढुकी बुझ्न गाउँ डुल्नुस्(फोटोफिचर)


धरान । नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ गाउँ डुल्न भनेपछि हुरुक्कै हुन्छन् । उनले पदयात्रा गरेरै नेपालका ७३ जिल्ला घुमिसकेका छन् । शनिबार यी चर्चित गायकले चिकित्सा विज्ञानका विद्यार्थीहरुलाई पनि गाउँमा जान आग्रह गरे ।
गाँउ डुल्न सुझाउने यी पदयात्री गायक र चिकित्सा विज्ञानका विद्यार्थीबीचको सम्बन्ध के होला ? गायक आफैले यो प्रश्नको गाठो पनि यसरी फुकाइदिए–‘देशलाई बुझ्ने हो भने गाउँमा जानुस्, पदयात्रा गर्ने हिम्मत गर्नुस्, गाउँले जीवनलाई नजिकबाट नियाल्नुस्, त्यहाँको भोगाईले, जीवन र व्यावहारले तपाईलाई नयाँ कुरा सिकाउनेछ ।’
चिकित्सक र विरामीबीचको बढ्दो दुरीलाई कम गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले आयोजना गरेको ‘चिकित्सा विज्ञान र मानवीयताबीच नयाँ आयामहरुको उत्खनन’ वृहत अन्र्तक्रियामा शनिबार गायक गुरुङ पनि वक्ताकारुपमा थिए । उनले चिकित्सा विज्ञानका विद्यार्थीहरुलाई समाज एवं मानिसको ढुकढुकी बुझ्न गाउँ जान सुझाए । ‘तपाईहरु शहरमा बसेर हुदैन, हिमाल, पहाड, तराईको गाउँमा पुग्नुस्, त्यहाँको मानिसहको संगत गर्नुस्’–आफ्नो पद यात्राको सँस्मरण प्रस्तुत गर्दै उनले पटक पटक भने–‘गाउँको परिवेश, ढुकढुकी, सँस्कृति बुझ्न सक्यौं भने त्यो किताबी ज्ञान भन्दा ठुलो हुन्छ ।’ एउटा जुनिले नेपाल घुम्न नपुग्ने भन्दै गायक गुरुङले अर्काे जुनिमा पनि यही देशमा जन्मन पाउँ भन्ने कामना पनि व्यक्त गरे ।
पत्रकार एवं बिबिसि नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले व्यावहारिक परोकारको बिषयमा बोल्दै नेपाल जस्तो तेस्रो मुलुकमा पेशामा मात्रै केन्द्रीत नभई सेवा र मानवीयताको पक्षलाई पनि पेशाकर्मीहरुले महत्व दिनुपर्ने बताए । परोकारी भावना पैसा दिएर मात्रै नहुने भन्दै उनले मानवीयता पनि भएको प्रष्ट्याए । ‘देश सिस्टममा चलेको छ भने त्यहाँ आफ्नो पेशागत भुमिका मात्रै निर्वाह गरे हुन्छ’–पत्रकार मिश्रले भने–‘तर, सिस्टममा नचलेको हाम्रो जस्तो तेस्रो मुलुकका पेशाकर्मीहरुले पेशागत धर्म निर्वाह गरेर मात्रै पुग्दैन,सेवा, मानवीयता पनि हुनुपर्छ ।’


अर्का पत्रकार तथा हिमाल साप्ताहिकका सम्पादक किरण नेपालले चिकित्सक झै पत्रकारहरुपनि शहर केन्द्रीत भएर समाचार सम्प्रेषण गरिरहेको भन्दै टिप्पणी गरेका थिए । उनले सामाजिक विज्ञानलाई पत्रकारिताले पनि महत्व नदिएको धारणा राख्दै उनले एक खराब व्यक्तिको बिषयमा समाचार प्रकाशित भयो भन्दैमा समग्र चिकित्सा क्षेत्र विचलित नहुन पनि आग्रह गरे । ‘एउटा खराब चिकित्सकको बारेमा समाचार लेख्यो भन्दैमा समग्र पेशा नै खराब भन्ने होइन, त्यस्तो अवस्थाबाट अघि बढ्नुपर्छ’–पत्रकार नेपालले भने–‘मिडियाले राम्रो चिकित्सकहरुलाई पनि चिन्न थालेको छ, डाक्टर भगवान कोइराला राम्रो काम गरेर भगवान भएका हुन्, तर समाजमा उनलाई मिडियाले भगवानकोरुपमा चिनाएको हो नि ।’ पत्रकारहरु ‘एलियन’ नभएको प्रष्ट्याउदै उनले मिडिया कसैको पेवा नभई सबैको साझा भएको बताए । एउटा पत्रकार चिकित्सक भएर विरामी जाँच्न नसक्ने तर चिकित्सक पत्रकार, लेखक बन्न सक्ने भएकोले मिडियालाई सबैले आफ्नै ठान्नुपर्ने उनले बताए । ‘मिडिया म होइन, कसैको पनि होइन, तपाईहरु पनि हो । आउनुस्, लेख्नुस्’–पत्रकार नेपालले भने–‘पत्रकारहरु पनि यही समाजका अंग हुन्, अर्को ग्रहबाट आएको एलियन होइन ।’

कार्यक्रममा वरिष्ठ चिकित्सक डा.भगवान कोइरालाले प्रशासनिक एवं व्यावस्थापकीय पक्षको बिषयमा बोल्दै विरामी र चिकित्सकलाई फाइदा पुग्ने गरी अघि बढ्न सुझाव दिएका थिए । शुक्रबारबाट शुरु भएको कार्यक्रममा शनिबार वरिष्ठ चिकित्सक डा.सरोज धिताल, डा.अर्जुन कार्की, बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेत, नेपालयका किरणकृष्ण श्रेष्ठ। डा.बालकृष्ण भटराई, साहित्यकार कृष्ण धाराबासीलगायतले पनि विभिन्न बिषयमा बोलेका थिए । प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित कार्यक्रममा सहभागी चिकित्सक एवं विद्यार्थी र अतिथि वक्ताहरुबीच सम्बन्धित बिषयमा प्रश्नोत्तर पनि भएको थियो ।

अघिल्लो दिन कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले चिकित्सा पेशा अत्यन्तै जोखिमपुर्ण बन्दै गइरहेको उल्लेख गर्दै यसको निधान खोजिनुपर्ने बताएका थिए । विरामीको अनपेक्षित आशा र चिकित्सकहरुले पनि विरामीलाई साधनकोरुपमा मात्रै लिदा समस्या उब्जिएको हुनसक्ने भन्दै उनले समाजका विभिन्न क्षेत्रसँग अन्र्तक्रिया गरिदा चिकित्सक र समाजले एकअर्कालाई बुझ्ने मौका पाउने आशा व्यक्त गरे । ‘चिकित्सा पेशा दिनदिनै जोखिमपुर्ण बन्दै गइरहेको छ, आवश्यक पर्दा भगवान ठान्ने, रोग निको हुदा उसको कामै त हो भन्ने र केही तलमाथि भयो भने आक्रमण गर्ने प्रवृत्ति बढ्दो छ’–शिक्षाध्यक्ष श्रेष्ठले भने–‘हामीले सुक्ष्मरुपमा समाजका सबै पक्ष मिलेर केलाउन सक्यौ भनेमात्रै सुधार आउन सक्छ ।’
जुनियर रेजिडेन्ट डा. जगदीश विष्टले डाक्टर बन्नुअघि लिइने सपथको एक्काइसौ शताब्दीमा औचित्यको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, डा.नरेन्द्र भट्टले विगतका प्रतिवद्धताहरुको बिषयमा धारणा राखेका थिए । कार्यक्रमले चिकित्सक एवं विद्यार्थीहरुलाई ज्यादै फाइदा पुगेको आयोजक जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा.बिकास गौचनले बताए । ‘चिकित्सकलाई र विद्यार्थीहरुलाई राम्रो चिकित्सक बन्न प्रेरणा मिलेको छ, विरामीलाई बिषेश ध्यान दिन र जागरुक पनि बनाएको छ’–डा.गौचनले भने–‘भविष्यमा यो कार्यक्रमले निरन्तरता पाउनेछ, नेपालका अन्य मेडिकल कलेजले पनि यसको सिको गर्न आवश्यक छ ।’ विरामी र चिकित्सकहरुबीच बढ्दो असझदारी एवं दुरीलाई कम गर्न विभिन्न आयामहरुको खोजी गर्ने उद्देश्यले जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटी र परिक्रमा विद्यार्थी परिवारको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

 























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे