निःशुल्क उपचार पाउने लोभमा रातमा कष्ट
धरान । पुषको मुटु कमाउने रात । साँझ नपर्दै मानिसहरु घर पुगिसक्छन् । तर, स्थानीय नगेन्द्र श्रेष्ठ भने रातमा धरान ७ स्थित बुद्ध मार्गको सडक किनारमा बसिरहेका हुन्छन् ।
एक दिन होइन, दुई दिन होइन । महिना दिनअघि देखि नै यो क्रम चलिरहेको छ । पुषको चिसो रातमा सडक किनारमा बस्नु बाध्यता हो । ‘अहिल्यै नबसे भोली टोकन पाइदैन, र पालो छिटो आउदैन’–उनले नागरिकसँग भने । उनको ७ बर्षीय छोरालाई टन्सिल र पिसाब पोल्ने समस्या छ । त्यही रोगको उपचार गराउन कोरियन नेचुरल फिटनेशमा टोकन लिनुपर्छ । निःशुल्क उपचार दिइने भनिएको यो फिटनेशमा टोकन लिनको लागि श्रेष्ठ झै रातभर कष्ट सहेर जागा बस्नेहरु थुप्रै छन् । ‘बिहान लाइनमा बस्न आउ भने टोकन लिने पालै पाइदैन, त्यसैले बेलुकै ठाउँ ओगट्नु पर्छ’–श्रेष्ठले भने ।

मेशिनको व्यापार बढाउन निःशुल्क उपचार भन्ने प्रचार गरेको र पालो पाउन दुःख पाएको ठान्नेहरु पनि छन् । तर, रोग निको हुने आशाले कष्ट सहेरै भएपनि बस्नु परेको उनीहरु बताउछन् । ‘रोग पालेर बस्न कसैलाई मन हुन्न, त्यसैले अलिअलि कष्ट त सहनै पर्यो नि’–एक विरामीले भने । कतिको लागि टोकनको लाइन कमाइखाने बाटो पनि बनेको छ । एक कुरुवाका अनुसार केही व्यक्तिले रकम लिएर रातभर ठाउँ रुघिदिने गरेका छन् ।
सेराजिमले राम्रो गरेको भन्ने सुनेर तेह्रथुम, संखुवासभा, भोजपु, ताप्लेजुङ, खोटाङ, उदयपुरलगायत जिल्लाहरुबाट पनि विरामीहरु आइरहेका छन् । यसका सञ्चालकले प्यारालाइज, हात खुट्टा दुख्ने, ग्याष्टिक, नशा दुख्नेलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै आइरहेका छन् । यही खबर सुनेर धनकुटाको हिलेबाट आएका निर्मल लामा राती पालैपालो बस्ने गरेको बताउछन् । ‘खुट्टा दुख्ने र डाइबिटिजले गर्दा आएको हो, सबैले राम्रो भइरहेको छ भन्छन्’–उनले भने ।
सञ्चालिका करुणा आचार्जु व्यापार बढाउन नभई कम्पनीको नीति अन्र्तगत निःशुल्क उपचार सेवा दिइएकोले विरामीहरुको घुइचो लागेको बताउछिन् । राती बसेर कष्ट नगर्न र बिहान मात्रै आउन भनेपनि विरामीहरुले नै नमानेको उनको भनाई छ । ‘हामी बिहान पौने ८ बजे टोकन बाड्छौं, बिहान ७ बजेतिर मात्रै आउनुस भन्यौं, तर कतिजना राती नै ठाउँ रुध्न बस्नुहुन्छ’–उनले भनिन्–‘अचले रातभर चाहि बस्दैनन्, झोला वा सामान छोडेर जान्छन् तर बिहान ३ बजेतिर चाहि आउने रैछन् ।’

Comments
Post a Comment